किरणले तोडे विराजको कीर्तिमान, उपेन्द्रमान सिंहको कीर्तिमानसँग बराबरी

भारतविरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेलमा लागि दशरथ रंगशालाको मैदान उत्रीदै नेपाली पुरुष फुटबल टिमका गोलरक्षक तथा कप्तान किरण चेमजोङले पूर्व कप्तान विराट महर्जनको कीर्तिमान तोडेका छन् । 

भारतविरुद्धको यो खेल उनले देशका लागि खेलेको ७४औँ खेल हो । योसँगै किरण नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन् ।   
भारतविरुद्ध नै बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमार्फत विराजको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका किरणले त्यसलाई तोड्दै यो कीर्तिमान आफ्नो नाममा गराएका हुन् । 

सन् २००८ मा कम्बोडियामा आयोजना भएको एएफसी च्यालेन्ज कप छनोट अन्तर्गत मे २४ मा भएको मकाउ विरुद्धको खेलबाट किरणले नेपालका लागि अन्र्तराष्ट्रिय डेब्यु गरेका थिए । 

उनको अन्र्तराष्ट्रिय डेब्यु सुखद थिएन । पहिलो खेलमै किरणले गम्भिर चोटको सामना गर्नु परेको थियो ।  

खेल सुरु भएको मात्र २३ मिनेटमै हल्का उचाइ लिएको बललाई नियन्त्रण गर्ने क्रममा उनी विपक्षी खेलाडीसँग ठोकिन पुगे र उनको बङ्गारामा गम्भिर चोट लागेको थियो । 

करिब पाँच मिनेट मैदानमै प्राथमिक उपचार गरेपनि खेल्न सक्ने स्थितीमा नरहेपछि उनले मैदान छाडेका थिए । त्यसपछि उक्त खेलमा उनको स्थान रितेश थापाले लिए । 



डेब्यु खेलमै चोट बोकेका उनले करिब ३ वर्षपछि सन् २०११ मार्च १७ मा भुटान विरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा पुनरागमन गरे । त्यसयता उनले पछाडी फर्किएर हेर्नु परेको छैन । 

सन् २०१८ मा साफ च्याम्पियनसिप अन्तर्गत भएको भुटान विरुद्धको खेलमा पहिलोपटक नेपालको कप्तानी गरेका थिए । 
किरणले यो खेलसँगै गोलरक्षकका रुपमा नेपालका लागि सर्वाधिक खेलमा  कप्तानी गर्ने उपेन्द्र मान सिंहको कीर्तिमानसँग पनि बराबरी गरे । दुवैले १७ खेलमा कप्तानी गरेका छन् । 



हालसम्म खेलेका ७३ खेलमा उनले २४ क्लिन सिट राख्न सफल भएका छन् । नेपालका लागि सन् २०१६ मा एएफसी सोलिडारिटी र सन् २०२१ मै त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि हात पारेका छन् । 

नेपालले त्रीदेशीय फुटबल प्रतियोगिताको उपाधि जित्दा टोलीको कप्तानी किरणले नै गरेका थिए । 


 

 

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १७:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया