फिनिसिङमा चुकेको नेपाल

नेपालले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल गुमाएको छ । आइतबार घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपाल २–१ले पराजित भएको हो ।

भारतलाई जित दिलाउन फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले एक–एक गोल गर्दा नेपालका तेज तामाङले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित सकिएको खेलको ६२औँ मिनेटमा फारुख चौधरीको गोलमार्पmत भारतले अग्रता लिएको थियो ।

उनले कप्तान सुनिल क्षेत्रीको हेडमा नेपाली खेलाडीको तालमेल नमिलेको अवस्थाको फाइदा उठाउँदै गोल गरेका थिए ।

८०औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतको अग्रता दोब्बर बनाए । उनले काउन्टर एट्याकमा मैदानको मध्य भागबाट बल अगाडि बढाउँदै नेपाली गोलरक्षक किरण चेम्जोङलाई बिट गर्दै सहज गोल गरेका थिए । 

८७औँ मिनेटमा तेज तामाङले डिबक्सबाहिरबाट गरेको सशक्त प्रहार सीधै गोलमा परिणत हुँदा नेपालले खेलमा फर्कने संकेत दिए पनि त्यो सफल भने हुन सकेन । तेजको सिनियर टोलीका लागि यो पहिलो गोल थियो । 



नेपालले आज निकै दबाब सिर्जना गरेको थियो, तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा ऊ पराजित हुन पुग्यो ।

खेलको १३औँ मिनेटमा नेपालले गोल गर्ने राम्रो अवसर प्राप्त गरेको थियो । तेज तामाङको प्रहारमा डिफ्लेक्स हुँदै आएको बललाई मनीष डाँगी नियन्त्रण गर्न नसकेको बललाई भारतीय डिफेन्डरले क्लियर गरिदिँदा नेपालले अग्रता लिन सकेन ।



२३औँ मिनेटमा भारतीय गोलरक्षक अमरिन्दर सिंह अगाडि बढेको अवस्थामा तेज तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । 

२८औँ मिनेटमा आयुष घलानको क्रसमा आशिष लामाको हेडर प्रयास सफल हुन सकेन ।

६५औँ मिनेटमा तेज तामाङको क्रसमा अञ्जन विष्टको हेडर बललाई भारतीय गोलरक्षकले सहजै बचाए ।

६८औँ मिनेटमा विशाल राईले पाएको सुवर्ण अवसरलाई सदुपयोग गर्न सकेनन् । नवयुग श्रेष्ठको पासमा उनले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरयो । ७४औँ मिनेटमा मनिष डाँगी गोल गर्नबाट चुके ।

आजको खेलका नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसङमा चुक्दा खेल आफ्नो पक्षमा पार्न सकेन ।

आजको खेलमा गोलरक्षक किरण चेम्जोङ र डिफेन्डरको प्रदर्शन भने तारिफ गर्न लायक थियो । उनीहरुले बारम्बार भारतको प्रहारलाई रोक्दै नेपालको खतरा टारेका थिए ।

सम्रगमा हेर्दा नेपालको प्रदर्शन नराम्रो होइन, तर आज पनि पहिलो मैत्रीपूर्ण खेलमा जस्तै फिनिसिङको अभाव प्रस्टै देखिन्थ्यो ।

पहिलो खेलमा भन्दा आज मिडफिल्डरले उत्कृष्ट प्रदर्शन गरे । उनीहरु बारम्बार गोलका लागि अवसर सिर्जना गराएको भए पनि त्यसको सदुपयोग भने हुने सकेन ।

किरणको कीर्तिमान, विशाल र राजनको डेब्यु

नेपालले भारतविरुद्ध हार बेहोरे पनि केही खेलाडीका लागि भने यो खेल निकै विशेष बन्न पुग्यो ।

यो खेलसँगै कप्तान किरण चेम्जोङले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाए । सन् २००८मा मकाउविरुद्ध डेब्यु गरेका किरणको देशका लागि  यो ७४औँ खेल थियो । उनले पूर्वकप्तान विराज महर्जनको ७३खेलको कीर्तिमान तोडेका हुन् ।

गोलरक्षक विशाल श्रेष्ठको राष्ट्रिय टिमबाट डेब्यु गर्ने दशक लामो प्रतीक्षा पनि यही खेलमार्फत अन्त्य भएको छ । उनले ८६औँ मिनेटमा किरण चेम्जोङको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरे ।

उनी सन् २०११ मा पहिलोपटक राष्ट्रिय टिममा परेका थिए । त्यसयता नियमित रुपमा टोली हिस्सा रहँदै आएको भए पनि उनी किरण चेम्जोङ र विकेश कुथुपछि तेस्रो रोजाइका गोलरक्षकका रुप रहँदै बेन्चमै सीमित बनेका थिए ।

डिफेन्डर राजन गुरुङले पनि यही खेलमार्फत सिनियर टोलीका लागि डेब्यु गरेका छन् । उनी खेलको ८६औँ मिनेटमा मनीष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार २१:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया