अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ सार्वजनिक

कुशेऔँसीको तिथि पारेर पब्लिकेसन्स नेपालयले अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ बजारमा ल्याएको छ ।

 ‘नेपालय कविता’ अन्तर्गत प्रकाशित यो पुस्तक नौवटा विभिन्न छन्दमा विरचित करुण रसका कविताको संग्रह हो । ‘निनाद वल्लरी’ साहित्यकार विष्णुराज आत्रेय  ‘लाटो साथी’की छोरी अलकाले आफ्ना स्वर्गीय पिता आत्रेयको प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो । 

यस काव्यले पिता–पुत्रीको वात्सल्य र वियोगलाई छन्दमार्फत अत्यन्त मार्मिक र सुललित शैलीमा अभिव्यक्त गरेको छ । साथै, छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रीतिमाथि पनि परोक्ष रुपमा व्यंग्य गरेको छ ।

दक्षिण एसियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी आत्रेय चूडाल हाल भियना विश्वविद्यालय अस्ट्रियामा प्राध्यापनरत छिन् । उनको लेखनमा संस्कृत र नेपाली साहित्य साथै पूर्वीय दर्शनको सुगठित र सुरुचिपूर्ण संयोजन पाइन्छ । 

कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाएकी चूडालको यो दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो ।

पुस्तकका बारेमा उनी भन्छिन्, ‘भावको चरमोत्कर्षलाई शब्दले मात्र पूर्णतया अभिव्यक्त गर्न नसक्ने रहेछ। प्रेम, प्रसन्नता, सुख वा दुःखको चूडान्त अनुभूतिलाई व्यक्त वा विरेचन गर्न हाम्रो शरीरको पनि सक्रिय सहभागिता हुन्छ भन्ने त प्रकृतिसिद्ध कुरा हो ।’



साहित्यका विधाहरुमा छन्द कविता त्यस्तो भाव सम्प्रेषण गर्न सक्षम भएको उनले बताएकी छिन् । पितृवियोगको पीडादायी अनुभूति र गुम्सिएका घाउलाई निको पार्न छन्द कविताको आश्रय लिएकी कविले छन्द र संस्कृत साहित्यको प्रारम्भिक शिक्षा आफ्ना पिताबाटै पाएकी थिइन् । 

कतिपय धार्मिक विधानमा विवाहिता छोरीलाई पितृकार्यमा अर्कै गोत्रकी भनेर सरिक हुन वर्जना गरिएको र साहित्यानुरागी पितालाई आफ्नो श्रद्धाञ्जली चढाउन कविताभन्दा उपयुक्त अरु के होला भनेर आफूले ‘निनाद वल्लरी’ अर्पण गरेको बताएकी छिन् । 



नेपाली बजारका निम्ति ‘निनाद वल्लरी’ को मूल्य १६५ रुपैयाँ तय गरिएको छ । देशका प्रमुख पुस्तक पसलका साथै पुस्तकको ई बुक र अडियो बुक थुप्रै डट कममा सर्वत्र उपलब्ध हुनेछ । विश्व बजारमा पुस्तक अमेजनमार्फत उपलब्ध हुनेछ ।

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १७:२३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया