गृहमन्त्री भन्छन् – ७० प्रतिशत हिंसाको कारक मदिरा हो

गृहमन्त्री रामबहादुर थापाले ७० प्रतिशत हिंसाको कारक मदिरा भएकाले यसको नियन्त्रणमा जुट्नु जरुरी रहेको बताएका छन् ।

समाजमा हुने लागुऔषध, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको उनको भनाइ छ । 

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तर्क्रियामा उनले विकास र समृद्धिको बाधकका रूपमा रहेको हिंसा निस्तेज पार्न जरुरी रहेको बताए । उनले भने, ‘सबै प्रकारका अपराध निस्तेज नगरेसम्म समृद्ध नेपाल निर्माण हुन सक्दैन ।’ 

गृहमन्त्री थापाले ‘विकास, समृद्धि, सुशासन र शान्तिको उच्चतम अवस्था समाजवाद हो’ भन्दै समाजवादको लक्ष्य पूरा गर्न सरकार र जनता एकजुट हुनुपर्ने बताए ।

‘मुलुकमा अझैसम्म पनि अशान्ति र द्वन्द्व निम्त्याउने तत्व सक्रिय भइरहेका छन्, त्यसतर्फ हामी सजग हुनुपर्छ,’ उनले भने ।  

हिंसा रोक्न स्थानीय स्तरबाटै जनता परिचालन गरेर आन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ छ । 



गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले मदिरा नियन्त्रणका लागि वडामा कति पसल सञ्चालन गर्ने र कुनकुन समय बिक्रीवितरण गर्ने भन्नेबारे स्थानीय क्षेत्रले योजना बढाएर अगाडि बढ्नुपर्ने बताए ।

अन्तर्क्रियामा बोल्दै गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीले लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा निवारणका लागि मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिए । 



सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह र प्रहरी सँगसँगै हुनुपर्ने बताए । हिंसा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान गरेको उनले बताए । 

महानगरपालिका काठमाडौं क्षेत्रमा भएको जथाभाबी पार्किङ हटाउन र ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने उनको प्रतिबद्धता छ । 

अन्तर्क्रियाका क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यकामा मदिरा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले गरिरहेको कामबारे बताए भने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी दिए ।

अन्तर्क्रियामा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले महिला तथा बालबालिका हिंसा, लागुऔषध र मदिरा नियन्त्रणका विषयमा आ–आफ्नो रायसुझाब दिए ।

  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १७:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया