देउवाको गृहजिल्लामा क्रियाशील विवाद, देउवाइतर पक्ष रुष्ट

नेपाली कांग्रेसका पार्टी सभापतिको गृहजिल्लामा क्रियाशील सदस्यमा विवाद देखिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि डडेल्धुराका क्रियाशील सदस्यको नामावली आइतबार राति मात्रै सार्वजनिक भएको हो । 

सार्वजनिक भएको क्रियाशील सदस्यतामा व्यापक हेरफेर गरेको भन्दै पार्टीका जिल्ला तहका नेताहरुले विरोध जनाएका छन् । केन्द्रले सार्वजनिक गरेको नामावलीमा रहेका धेरै सदस्यको नाम काटिएर सार्वजनिक भएपछि कांग्रेस डडेल्धुरामा थप बबण्डर निम्तिएको छ । 

‘आइतबार डडेल्धुराको क्रियाशील सदस्यता सार्वजनिक भएको छ,’ डडेल्धुराका कांग्रेस उपसभापति करुणाकर भट्टले भने, ‘सार्वजनिक भएका क्रियाशील सदस्यका नामावली हेर्दा हामी आश्चर्यचकित भएका छौँ ।’ 

४–४ तहबाट प्रमाणित भएका नामावली हटाइएको तर कुनै तहबाट पनि प्रमाणित नभएकाहरुको नामावली आएको उनले बताए । ‘व्यक्तिहरुको अनुहार हेर्दै को–कसको नजिक छ । पूर्वाग्रहका आधारमा माथिबाट थप्ने र हटाउने काम भएको छ । ‘भोलि मंगलबार दिउँसो १ बजे जिल्ला कार्यसमितिको बैठक डाकेका छौँ,’ फरकधारसँग कुरा गर्दै उनले भने, ‘बैठकमा व्यापक छलफल हुन्छ, । त्यही आधारमा अगाडि बढ्नेछौँ ।’

नेपाली कांग्रेसका कार्यालय सचिवराम विष्टका अनुसार कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको नामावली सिफारिस गरेको थियो । जसमध्ये ४ सय ४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ ।
 
‘केन्द्रीय छानबिन समितिले आफैँले कृत्रिम विवाद गराएर एकलौटी रुपमा नाम काट्ने काम भएको उपसभापति भट्टको आरोप छ । उनले भने, ‘कुनै पनि तहको निर्णय छ भने त्यसमा हाम्रो कुनै आपत्ति हुँदैन । सबै वडा, पालिका, जिल्ला र प्रदेश तहको सिफारिसमा पठाएकाहरुको नाम काट्ने काम भएको छ । यो चिन्ताको विषय हो ।’
 
सभापतिको उम्मेदवारी घोषणा गरेका भट्टले भने, ‘मेरो आफ्नै पीडा छ, म पनि सभापतिको उम्मेदवार । मेरो वडामा क्रियाशील सदस्यता ७२ जनाको काटिएको छ ।’ 

हटाइएका सदस्यमा जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्वजिल्ला सभापति तथा ​परशुराम नगरका पूर्वसभापति तारासिंह बोहरा, त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियू सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्ट लगायत छन् ।



डडेल्धुरा कांग्रेस सभापतिका लागि भीमबहादुर साउद, करुणाकर भट्ट र हरिप्रसाद भट्ट गरी तीनजना आकांक्षी छन् । 

परशुराम नगरपालिकाका नगरप्रमुखसमेत रहेका साउद कांग्रेस सभापति देउवानिकट हुन् । साउदलाई फोन गर्दा उनी सम्पर्कमा आएनन् । 



यस्तै, जिल्ला पार्टी सभापति मल्लको समूहबाट करुणाकरको नाम चर्चामा छ । यसैगरी डडेल्धुरामा जन्मिएको तेस्रो धारको नेतृत्व तहमा रहेका हरिप्रसाद पनि सभापतिको दौडमा छन् । उनी पेसाले अधिवक्ता हुन् । 

सभापतिका आकांक्षी तीनैजना आ–आफ्नो पक्षधर नेता–कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १७:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया