चकचके दीपकको बाबुसँग अनौठो सम्बन्ध

सानैमा आमाको मृत्यु । उमेर छँदै एकल बनेका बुवा । बुवाको जागिरे जीवन । यस्ता धेरै कुराले कलाकार दीपकराज गिरीको बल्यकाल हजुरबुवाको वरिपरि बित्यो । तन्नेरी हुँदासम्म दीपकको उनका बुवासँग सुमधुर सम्बन्ध बन्न सकेन । 

बाल्यकालको अधिक समय हजुरबुवासँग बिताएका दीपकले आफ्ना बुवालाई भन्दा धेरै हजुरबुवालाई नै सताए । उनको बाल्यकाल थुप्रै उट्पट्याङ, चकचक गरेर बित्यो । हजुरबुवालाई निकै सताउने दीपकले थुप्रै पटक हजुरबुवाले लुकाएर राखेका पैसा निकालेका छन् । उनी हजुरबुवाको पैसा चोरेर कहिले जुवा खेल्न जान्थे त कहिले फिल्म हेर्न ।

हजुरबुवाको पैसा चोरेर हिँडेपछि उनको घर फर्किने समय जति धेरै पैसा त्यति धेरै लामो हुन्थ्यो । पैसा नसकिउञ्जेल उनी घर फर्किंदैनथे । एक पटक हजुरबुवाको पाँच हजार रुपैयाँ निकालेर हिँडेका गिरी ११ दिनपछि घर फर्किए । 

घर फर्किंदा बुवाको भन्दा धेरै डर हजुरबुवाको लाग्यो । उनका हजुरबुवा लौराले हान्थे । हजुरबुवाको लौरो खाँदा–खाँदा दीपकको ज्यान झन् दरिलो बन्दै गयो । पछि त उनलाई लौराले पिट्दा पनि दुख्नै छोड्यो । उनका हजुरबुवाले उनले निकालेको भन्दा धेरै पैसा त ताल्चामा खर्च गरे । जति पिटे पनि दीपक हजुरबुवासँग निकै नजिक थिए । लामो समय बुवाभन्दा हजुरबुवाको ख्याल आउँथ्यो उनलाई । 

दीपकको यो बद्मासी उनका बुवालाई पटक्कै मन पर्दैनथ्यो । उनका बुवा चाहन्थे– छोराले राम्रो नोकरी गरोस् । नाम कमाओस् । पैसा कमाओस् । दीपकमा भने फिल्मको भुत सवार भैसकेको थियो । उनी कुनै पनि हालतमा कलाकार बन्न चाहन्थे । फिल्म हेर्न उनले धेरै पटक बुवाको गोजी टकटक्याए । घरको सामान नै गायब गरिदिए । दीपक आफ्ना बुवाको पनि निकै कुटाइ खान्थे । 

अहिले फर्किएर हेर्दा बुवाले छोराले राम्रो नोकरी गरोस् । पैसा कमाओस् भनेर सोच्नु स्वाभाविक रहेछ भन्ने लाग्छ उनलाई । त्यतिबेला उनका बुवालाई घर चलाउन पनि निकै गाह्रो भएको रहेछ भन्ने बुझ्न लामै समय लाग्यो । 



त्यो समय कलाकारलाई समाजले हेर्ने दृष्टिकोण राम्रो थिएन । कलाकारले पैसा कमाउने कुरा त झन् परको थियो । त्यसैले पनि उनका बुवालाई छोराले कलाकारिता रोजेको मन परेको थिएन । बैंकका कर्मचारी उनका पिता छोराले बरु आफ्नै क्षेत्र रोजोस् भन्ने थियो । त्यसैले पनि दीपकले कलाकारितामा निकै संघर्ष गर्नुपर्यो । 

आफूले चाहेको क्षेत्रमा बुवाले दिनुपर्ने हौसला, आँट र साथ पाइनँ भन्ने कुरा दीपकको मनमा सधैं बिझिरहन्छ । यही दुखाइले गर्दा दीपकले आफ्ना छोराछोरीमा फरक सपना देखेनन् । छोराछोरीले जे सपना देखे त्यही पूरा गर्न साथ दिए । हौसला र आँट दिए । 



अहिले दीपक काठमाडौंमा बुवासँग बस्छन् । उनका बुवालाई अहिले पनि फिल्मप्रति कुनै रुचि छैन । तर, छोराले बनाएका सबै फिल्म हेरेका छन् । घरमा दीपकका बावु–छोरी हिजोआज निकै बहस गर्छन् । कहिलेकाहीँ भनाभन जस्तै हुन्छ । बाउ–छोरा बाझाबाझ नै गर्छन् । भन्छन्, ‘हामी बाबु–छोराको सम्बन्ध अनौठो किसिमको छ ।’ धेरै त उनका बुवासँग राजनीतिक बहस हुन्छ । दीपकका बुवा देशको राजनीतिमा निकै चासो राख्छन् । 
 

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार २१:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया