१२ करोडको हल्लाले थलिएको सेयर बजारमा अर्थमन्त्रीको फोनले उत्साह

पछिल्लो साता सेयर बजारमा निकै उतारचढाव आयो । यो साता सोमबारबाहेक हरेक दिनजसो दोहोरो अंकले बजार झर्यो । सेयर बजारमा उच्च गिरावटको कारणबारे पनि बजारमा चर्चा भइरह्यो । पछिल्लो साता मौद्रिक नीतिलाई कार्यान्वयन गर्न जारी गरिएको एकीकृत निर्देशन लागू भएपछि बजारमा असर देखिएको हो ।

जसको एक प्रमुख कारण थियो, १२ करोडको सीमा । खासगरी नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा आएको १२ करोडको सेयर धीतोको कर्जा सीमारेखाबारेको चर्चाले बजारमा निकै गिरावट आएको विश्लेषक बताउँछन् ।  
 
मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन आएपछि सेयर धितो राखेर एउटा बैंकबाट बढीमा ४ करोड र छुट्टाछुट्टै बैंक गरेर बढीमा १२ करोड रुपैयाँ मात्रै बैंकबाट ऋण लिन सकिने व्यवस्था गरिएको थियो । सोही विषयलाई लिएर ठूला लगानीकर्ताले लगातार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई ताकेता गर्न थालेका थिए । उनीहरुले उक्त सीमा घटाउन निरन्तर दबाब दिन थालेका थिए । 

सोही विचार बजारमा पनि प्रवाह भएपछि बजारले आफ्नो लय छाडेको थियो । उक्त विषयमा बजारमा आ–आफ्नो ढंगले व्याख्या-विश्लेषण भएपछि बजारमा लगातार पहिरो गएको हो । 

ठूला लगानीकर्ताले आ–आफ्नो ढंगले व्याख्या गर्दा यस्ता समस्या आउने गरेको बजार विश्लेषक अनलराज भट्टराई बताउँछन् । ‘पछिल्लो सातामा बजारमा देखिएको उतारचढाव १२ करोडको सीमारेखा नै प्रमुख कारण हो । यो सीमा नाघेर ऋण लिने लगानीकर्ता एकदमै थोरै छन्,’ विश्लेषक भट्टराई भन्छन्, ‘तर, यसको प्रभाव भने धेरै लगानीकर्तामा परेको थियो । १२ करोडको सीमारेखा धेरै लगानीकर्तालाई थाहा थिएन । केवल भ्रम मात्रै थियो ।’

तर, बजार लगानीकर्ता भने ठूला लगानीकर्ता भनेर छुट्याउनु नै गलत भएको तर्क गर्छन् । लगानीकर्ता ताराप्रसाद फुलेल भन्छन्, ‘बजारमा ठूला लगानीकर्ता र साना लगानीकर्ता भनेर छुट्याउन जरुरी नै छैन । सबै लगानीकर्ता बजारमा छन् । केही असर पर्छ भने सबैलाई पर्छ । बजारमा कोही सानो र ठूलो छैन ।’

उनले अहिले बजारमा देखिएको समस्याको कारण मौद्रिक नीति भएकाले यसलाई लगानीकर्ताको लगानीसँग तुलना गर्नु गलत भएको बताए । लगानीकर्ता छोटेलाल रौनियारले पनि पछिल्लो साता बजारमा देखिएको समस्याको जड मौद्रिक नीति नै भएको बताउँदै भने, ‘लगानीकर्ताले स्वाभाविक रुपमा नाफाका लागि लगानी गर्छन् । त्यही लगानीबाट कमाएको नाफाले अन्य व्यापार पनि गर्छन् । यसलाई सीमित बनाइदिनु त गलत हो नि ! बजारमा नेगेटिभ हल्ला गर्नेहरु त भइहाल्छन् नि ! यसको पछि लाग्नुहुँदैन ।’



उनले बजारमा परेको असरले सबै लगानीकर्ताको लगानीमा प्रभाव पार्ने हुँदा अहिलेको समस्या केहीलाई मात्रै परेको नबुझ्न आग्रह गरे ।  
गत साताको आइतबार नेप्से सूचक ४९ दशमलव १८ अंकले घटेर ३०४४ दशमलव ८७ अंकमा पुगेको थियो । उक्त दिन बजारमा १५ अर्ब ६५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

साताको सोमबार कारोबार नै भएको थिएन भने मंगलबार पनि बजार दोहोरो अंकले घटेको थियो । सोमबार बजारमा नेप्से ६९.०५ अंकले घटेर २९७५.८४ अंकमा पुगेको थियो भने १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १ सय ७ रुपैयाँ काराेबार भएको थियो । त्यसपछि बुधबार भने बजारमा झिनो अंकले वृद्धि भएको थियो । 



बुधबार नेप्से २ दशमलव १४ अंकले बढेर २९७६ दशमलव ९८ अंकमा पुगेको थियो । उक्त दिन ९ अर्ब ३५ करोड १७ लाख रुपैयाँको मात्रै कारोबार भएको थियो । 

उक्त साताको अन्तिम दिन नेप्से सूचक ५० दशमलव १३ अंकले घटेर २९२६ दशमलव ८९ विन्दुमा आइपुगेको थियो । बिहीबार ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपैयाँको मात्रै कारोबार भएको थियो ।

साताको पहिलो दिन आइतबार भने बजारमा उच्च गिरावट आएको थियो । आइतबार १०८ अंकले घटेर बन्द भएको बजारमा सोमबार तीव्र उतारचढावसहित २९८०.७९ अंक माथि पुगेको छ । आइतबार घटेको बजारमा ५० अंकको क्षतिपूर्ति गर्दै सोमबार १६१ दशमलव ९४ अंकले माथि उक्लिएको हो ।  

अहिले बजारमा डिम्याट नम्बर लिनेको संख्या ४२ लाख पुगेको छ भने धितो पत्र बोर्डको आधिकारिक अनलाइन कारोबार एप मेरो सेयर लिनेको संख्या २५ लाख नाघेको छ । अनलाइनबाट काराेबार गर्नेहरु २४ लाख जति छन् । डिम्याट नम्बर लिनेमध्ये २५ प्रतिशतले दोस्रो बजारमा कारोबार गर्ने गरेका छन् । 

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार २१:५६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया