प्रदेश २ : नेकपा एकीकृत समाजवादीमा १३ र लोसपामा १६ सांसदले गरे सनाखत

प्रदेश २ मा जसपाबाट विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा १६ जना र नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा १३ जना प्रदेश सांसद आबद्ध हुने निर्णय लिएका छन् ।
 
नेकपा एमाले प्रदेश २ का १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालका १६ जना प्रदेशसभा सदस्यले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) रोजेका हुन् । 

जसपा र नेकपा एमाले विभाजन भएपछि निर्वाचन आयोगले सांसदहरूलाई सनाखत गर्न आज (भदौ २२)सम्मको समय दिएको थियो ।
 
जसपा नेपाल परित्याग गरी लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलमदेवी भूमिहारिन, अल्का झा, गौरीनारायण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, जितेन्द्र सोनल, अभिराम शर्मा, प्रह्लाद गिरी, उपेन्द्र महतो, रानी शर्मा तिवारी र डा.डिम्पल झा छन् । 

त्यस्तै, नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, हसिमा खातनु, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र डिल्लीप्रसाद उप्रेतीले सनाखत गरेका छन् । 

प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्य थिए । त्यस्तै, प्रदेशसभामा नेकपा एमालेका २१ जना सांसद थिए । एमालेका २१ मध्ये १३ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि प्रदेश २ को प्रदेशसभामा केपी शर्मा ओलीभन्दा माधवकुमार नेपाल पक्ष बलियो देखिएको छ ।

प्रदेश निर्वाचन कार्यालयमा भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा प्रदेशसभा सदस्य तथा स्थानीय तह सदस्यको पार्टीगत सनाखत सम्पन्न भएको हो ।





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १९:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया