प्रदेश २ मा जसपाबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा ८ सय ६६ र नेकपा एमालेसँग छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा ३ सय १३ जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन् ।
जनता समाजवादीबाट लोकतान्त्रिक समाजवादी पार्टीमा महोत्तरीका २५८, बाराका १३८, सर्लाहीका १३७, धनुषाका १०९, सप्तरीका ९६, रौतहटका ८८, पर्साका २८ र सिरहाका १२ जना स्थानीय तहका सदस्यहरूले सनाखत गरेका हुन् ।
त्यस्तै, नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पक्षमा रौतहटका ८४, सिरहाका ६१, सर्लाहीका ४८, धनुषाका ४८, बाराका ३२, सप्तरीका २९, महोत्तरीका ६ र पर्साका ५ जना स्थानीय तहका सदस्यहरूले सनाखत गरेका छन् ।
लोसपामा सबैभन्दा बढी महोत्तरीबाट २५८ जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन् । जसमा ६ पालिकाका प्रमुख, १० पालिकाका उपप्रमुख र ४४ जना वडाध्यक्ष रहेका छन् । धनुषाका १०९ जना स्थानीय जनप्रतिनिधिले लोसपा रोजेकोमध्ये १ पालिका प्रमुख र २ पालिकाका उपप्रमुख रहेका छन् भने १४ जना वडाअध्यक्षले लोसपा रोजेका छन् ।
त्यस्तै, २ जना उपप्रमुख र ८ जना वडाअध्यक्षले एकीकृत समाजवादी दल रोजेका छन् ।
सप्तरीका १ मेयर र ३ उपमेयर, धनुषाका १ मेयर र २ उपमेयर, महोत्तरीका ६ मेयर र १० उपमेयर, सर्लाहीका ५ मेयर र ४ उपमेयर, रौतहटका १ मेयर, बाराका ३ मेयर र ५ उपमेयर, पर्साका २ उपमेयरले जसपाबाट लोसपामा सनाखत गरेका छन् ।
उता, सप्तरीमा एमालेबाट नेकपा (एस) मा ३१ जनाले सनाखत गरेकामध्ये २ जनाले सनाखत फिर्ता लिन पाउँ भन्दै निवेदन दिएका छन् भने जसपाबाट लोसपामा सनाखत गरेका १ जना जनप्रतिनिधिले सनाखत फिर्ताका लागि निवेदन दिएका छन् ।
नेकपा एमाले विभाजन हुँदा स्थानीय तहमा प्रदेश २ मा ओली नेतृत्वको एमाले र जसपा विभाजन हुँदा उपेन्द्र यादवलाई ठूलो धक्का लागेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपालाई फाइदा पुगेको देखिन्छ ।
प्रदेश २ मा दलको संख्या ७ पुग्यो
प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ७ पुगेको छ । दुईवटा पार्टी विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले वैधानिकता पाएसंगै प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ७ पुगेको हो ।
पार्टी विभाजन हुनुअघि प्रदेशसभामा जनता समाजवादी पार्टी सँग ५५, नेकपा एमालेसँग २१, नेपाली काँग्रेस सँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद रहेका थिए ।
जनता समाजवादी पार्टी दुई टुक्रा भएपछि जसपाबाट १६ जना प्रदेशसभा सदस्यले लोसपा रोजेका छन् भने नेकपा एमाले छोडेर नेकपा ९एस० मा १३ जना प्रदेशसभा सदस्यहरुले सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ ।
योसँगै प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुमा लोसपा तेस्रो ठूलो शक्ति बनेको छ भने माधव नेतृत्वको नेकपा (एस) नेकपा एमालेलाई पछाडि पार्दै चौथो ठूलो शक्ति बनेको छ ।
अब प्रदेश २ को प्रदेशसभामा जसपा ३९ जना प्रदेशसभा सदस्य सहित सबैभन्दा ठुलो शक्ति बनेछ । तेस्रो दलको रुपमा रहेको काँग्रेस १९ जना प्रदेशसभा सदस्य सहित दोस्रो दल बनेको छ । त्यस्तै लोसपा १६ जना प्रदेशसभा सदस्य सहित तेस्रो दल बनेको छ भने नेकपा ९एस० चौथो ठुलो दल बनेको छ ।
पार्टी विभाजनअघि दोस्रो ठूलो दलको रुपमा रहेको एमाले अब ८ जना प्रदेशसभा सदस्यमा सीमित भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रसँग समेत ८ जना प्रदेशसभा सदस्य रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।