चिलीमा ६ वर्षका र क्युबामा २ वर्षका बालबालिकालाई भ्याक्सिन

महामारीको कहर अन्त्य भएको छैन । कोरोनाविरुद्धको भ्याक्सिन निर्माता कम्पनीहरुले साना बालबालिकाका लागि खोप निर्माण गर्न सकिरहेका छैनन् । यसले कलिला बालबालिकालाई लामो समयदेखि पठनपाठनबाट वञ्चित गराएको छ । 

यसैबीच, चिली सरकारले ६ वर्षभन्दा माथिका बालबालिकालाई सिनोभ्याक भ्याक्सिन लगाउन सुरु गरेको समाचारले केही राहत दिएको छ । चिलीका स्वास्थ्य अधिकारीहरुले सोमबार सिनोभ्याक उक्त उमेर समूहका बालबालिकामा प्रयोग गर्ने स्वीकृति दिएका हुन् ।

चिलीको लोक स्वास्थ्य संस्थानका निर्देशक हेरिबेर्टो गे्रसियाका अनुसार, उक्त भ्याक्सिन लगाउने–नलगाउने भन्नेबारे मतान्तर हुँदा एकको बदला पाँच मत पक्षमा परेको थियो । कहिलेदेखि भ्याक्सिन दिन सुरु गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयले तय गर्ने बताइएको छ । 

दक्षिण अफ्रिकी यो देशमा तीनचौथाइभन्दा बढी वयस्कले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन् । चिलीको क्याथोलिक विश्व विद्यालयमा ३ देखि १७ वर्षका ४ हजार बालबालिकामा सिनोभ्याकको प्रभाव अध्ययन गरिँदै छ ।

बालबालिकालाई यो भ्याक्सिन स्वीकृत गर्नेमा चीन पनि रहेको छ । चीनले सिनोभ्याकका साथै साइनोफार्मको भ्याक्सिन पनि स्वीकृत गरिसकेको छ ।

साथै अमेरिका, क्यानडा, सिंगापुर र हङकङमा १२ वर्षदेखि माथिका बालबालिकाका निम्ति फाइजरको भ्याक्सिन स्वीकृत गरेको छ । चिलीमा कोरोना संक्रमित १६ लाखभन्दा बढी रहेको र ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।



क्युबामा दुई वर्षका बालबालिकालाई भ्याक्सिन !

उता, क्युबाले दुई वर्षको बच्चालाई पनि कोरोनाविरुद्धको भ्याक्सिन दिने भएको छ । यो सानो मुलुकमा यसअघि १२ वर्षभन्दा माथिका बालबालिकालाई भ्याक्सिन लगाएको थियो । यो भ्याक्सिन क्युबा आफैंले निर्माण गरेको हो ।



क्युबामा बालबालिकालाई दिन थालिएको कोरोनाविरुद्धको भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । क्युबाको जनसंख्या करिब एक करोड १२ लाख छ । उक्त देशमा विद्यालय खोल्नुअघि सरकारले बालबालिकालाई भ्याक्सिन लगाउन चाहेको छ ।

  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १२:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया