एमाले विभाजनको प्रभाव: सोलुमा शुन्य, इलामबाट ५८ जनप्रतिनिधिले छाने एकीकृत समाजवादी

प्रदेश एकमा दुई जना नगर प्रमुख र तीन जना गाँउपालिका प्रमुखले नेकपा एमाले छाडेका छन् । 

यस्तै दुई जना उप मेयर र दुई जना उपाध्यक्षले पनि एमाले छाडेका छन् । 

एमाले विभाजन भएपछि दल रोज्न दिएको समय सिमा सकिँदा दुई जना जिल्ला समन्वय समितिका प्रमुख र २ जना उप प्रमुखहरुले एमाले छाडी नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् । 

प्रदेशबाट १० जना प्रदेश सभा सदस्य र २ जना प्रतिनीधि सभा सदस्य पनि एमाले छाडेर एकीकृत समाजवादीमा गएका छन् । 

एमाले छाडेर एकीकृत समाजवादीमा जाने मेयरहरुमा उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी र इलामको सूर्योदय  नगरपालिका प्रमुख रणबहादुर राई रहेका छन् । 

यस्तै संखुवासभाको खाँदबारी नगरपालिकाकी उप मेयर डेगेश्वरी श्रेष्ठ र भोजपुर नगरपालिकाका उप मेयर ममिला राईले नेकपा समाजवादीमा सनाखत गरेका छन् । 



उदयपुरको गढी गाउँपालिकाका अध्यक्ष  मानबहादर केप्छकी मगर, तेह्थुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू र इलामको माई जोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादर राईले पनि एमाले छाडेका छन् । 

दल रोज्ने समय सिमा सकिँदा ताप्लेजुङको मेरिंदेन गाँउपालिका उपाध्यक्ष कल्पना तुम्वाहाम्फे र  ताप्लेजुङकै त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मञ्जु भट्टराईले एमाले छाडेका छन् । 



एमाले छाडेर संखुवासभा र खोटाङका जिल्ला समन्वय समितिका प्रमुखहरु समाजवादीमा गएका छन् । 

खोटाङका बवि चाम्लिंग राई र संखुवासभाका सुमन शाक्यसँगै धनकुटाका उप प्रमुख बंगला राई र ताप्लेजुङका देवीमाया नेपाली पनि समाजवादी तर्फ लागेका छन् । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार  १४ जिल्लाका स्थानीय तहका १ सय ९४ जना निर्वाचित जनप्रतिनिधिहरुले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । 

पहाडमा धक्का 

एमाले विभाजन हुँदा मधेसका जिल्लाहरुमा एमालेलाई खास धक्का लागेको छैन । झापा मोरङ्ग सुनसरीबाट स्थानीय तहबाट कोहि पनि प्रमुख उप प्रमुखले एमाले छाडेका छैनन् । 

समन्वय समितिका प्रमुख र उप प्रमुख समेत एमालेमै बसेका छन् । तीन जिल्लाबाट ५ जना मात्रै वडाअध्यक्षले एमाले परित्याग गरेका छन् । 

सवै भन्दा बढि मोरङबाट ४ जना वडाअध्यक्षले एमाले छाडेका छन् । मोरङबाट एकीकृत समाजवादीमा जाने वडा अध्यक्षहरुमा उर्लाबारी–१ का मछिन्द्रकुमार कार्की, रतुवामाई–१० का टंक ढकाल, बुढीगंगा–४ का कासिम मियाँ र बुढीगंगा–५ का रमेशकुमार खनाल रहेका छन् । झापाबाट शिवसताक्षी–५ का नविन इजम एमाले छाडेर समाजवादीमा गएका छन् । 

झापाबाट ७, मोरङबाट ८ र सुनसरीबाट ६ जना स्थानीय तहका जनप्रतिनिधिले एमाले छाडेका छन् ।  

प्रदेश एकको सोलुखुम्बुबाट एक जना पनि एमालेबाट निर्वाचित जनप्रतिनिधि समाजवादीमा गएका छैनन् । निर्वाचित जनप्रतिनिधिले पार्टी नछाडेको सोलु मात्रै एउटा जिल्ला हो । सोलुपछि सवैभन्दा कम ओखलढुंगाबाट १ जना जनप्रतिनिधिले एमाले छाडेका हुन् ।  तेह्रथुमबाट २ जना जनप्रतिनिधि एमाले छाडेर समाजवादी तर्फ लागेका छन् । 

प्रदेश १ मा सवै भन्दा बढि इलामबाट ५८ जना जनप्रतिनिधिले समाजवादी रोजेका छन् । 

इलाम पछि उदयपुरबाट २८, ताप्लेजुङबाट २१, संखुवासभाबाट १५, खोटाङबाट ११, पाँचथरबाट ११ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् । भोजपुरबाट ६ जना स्थानीय तहका जनप्रतिनिधिले एमाले छाडेको निर्वाचन कार्यालयले जनाएको छ । 

  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १५:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया