क्षेत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक भवनको शिलान्यास

काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठतले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठतले भवन बनाउन लागेको हो ।

अस्पतालका संस्थापकको नाममा निर्माण हुने ‘माउ बद्री’ भवनको काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले संयुक्त रुपमा शिलान्यास गरेका छन् । 

बिहीबार आयोजित शिलान्यास कार्यक्रम समारोहलाई सम्बोधन गर्दै मेयर शाक्यले क्षेत्रपाटी निःशुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताए । उनले रकम अभावका कारण भवन निर्माण सम्बन्धी कार्य नरोकिने प्रतिबद्धता व्यक्त गरे । 

मेयर शाक्यले भने, ‘यहाँ वडा अध्यक्षज्यूहरु, उपमेयरज्यू, र म छौँ, फेरि पनि जितेर आउने हामी मध्येबाटै कोही हुन्छ, त्यसैले जनताको सेवा गर्ने क्षेत्रपाटी चिकित्सालयले रकम अभावमा काम गर्न पाइन भनेर गुनासो गर्ने ठाउँ दिन्नौँ ।’ 

स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने बित्तिकै प्रतिफल आउने नभई वर्षौंपछि प्रतिफल आउने हुँदा जनताको सेवामा समर्पित अस्पतालका लागि काठमाडौंबासीले तिरेको कर, जनतालाई फिर्ता गरेको मेयर शाक्यले बताए । 

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले क्षेत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौंभित्रका कोर सिटीका जनताको सेवामा कुनै कसर बाँकी नराखेको बताइन् । मेयर खड्गीले भनिन्, ‘काठमाडौंमा फोहोरको समस्या छ, खानेपानीको समस्या छ, त्यसैले स्वास्थ्य संस्थाको धेरै नै महत्व छ ।’ 



सहरी क्षेत्रभित्र राम्रो सेवा दिने स्वास्थ्य संस्थाको रुपमा सामुदायिक अस्पतालको संख्या उल्लेख्य भएको उपमेयर खड्गीले बताइन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष नविन मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालयको संस्थागत र संगठित रुपमा विकास गरेर अघि बढ्नुपर्ने बताए । वडा अध्यक्ष मानन्धरले कोरोना महामारीमा अस्पतालले बिरामीहरुको निःशुल्क उपचार गरेको स्मरण गराउँदै ०१५ सालदेखि उक्त अस्पतालले जनताको सेवामा समर्पित भएर काम गर्दै आएको बताए । 



काठमाडौंमा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले दाताहरुकै सहयोगमा अस्पतालले अत्याधुनिक विशाल भवन निर्माण गर्ने सपना देखेको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अध्यक्ष श्रेष्ठले काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड रुपैयाँले भवन निर्माण सुरु गर्न सम्भव भएको बताउँदै आगामी दिनमा पनि काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

कोरोना महामारीको समयमा अस्पतालमा केही आर्थिक समस्या परेको भए पनि अहिले महत्वाकांक्षी योजनामा अघि बढेको बताउँदै अध्यक्ष श्रेष्ठले भवन सम्पन्न भएपश्चात् क्षेत्रपाटी निःशुल्क चिकित्सालय भौतिक पूर्वाधार र स्वास्थ्य सेवाको गुणस्तर दुवैमा उत्कृष्ट हुने विश्वास व्यक्त गरे । 

काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड तथा अन्य दाताहरुले उपलब्ध गराएको थप डेड करोड रुपैयाँसहित निर्माण सुरु गरिएको अस्पताल दाताहरुबाट संकलित सहयोग रकमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यवस्थापन समितिका अध्यक्ष डा. श्रेष्ठले बताए । 

क्षेत्रपाटी निःशुल्क चिकित्सालय ०१३ साल माघ २३ गते १० रुपैयाँको कुल पुँजीबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालीन सञ्चार, यातायात तथा नहरमन्त्री गणेशमान सिंहले ०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन शिलान्यास गरेका थिए । 

अस्पतालले हाल दुईवटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ । हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा मुटुसम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टसहित अत्याधुनिक भेन्टिलेटर सुविधासमेत छ ।
 

  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार २०:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया