संसदको दृश्य : अर्थमन्त्रीको दौडधूप, सभामुख र सुवालको रोचक सवाल-जवाफ

संघीय संसद अन्तर्गतको दुवै सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध रोकिएको छैन् । प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो, दोस्रो र तेस्रो बैठक अवरोध भएपछि स्थगित भएको थियो । त्यसपछि आज दिउँसो १ बजेलाई डाकिएको बैठकमा पनि एमालेले आफ्नो प्रदर्शन रोकेको छैन् । 

एमालेको प्रदर्शनकैबीच सभामुख अग्निप्रसाद सापकोटाले भने सदनको कामकारवाही अघि बढाएका छन् । सभामुखले कारवाही अघि बढाइरहँदा संसदको दृश्यभने रोचक देखियो । एमालेका सांसदहरु (केपी शर्मा ओलीबाहेक) संसदको रोष्टमअघि नाराबाजी गरिरहेका थिए । जनताका जीवनस्तरसँग सम्बन्धित थुप्रै काम बाँकी भएकाले सदन चल्न दिनका लागि सभामुख सापकोटाले निकै पटक अनुरोध गरे । तर, एमालेको प्रदर्शन नरोकिएपछि भने उनले आफ्नो कारबाही अघि बढाएका हुन् । 

अर्थमन्त्रीको रोचक भागदौड 

एमाले सांसदहरुको प्रदर्शनकैबीच सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्टममा बोलाए । सभामुखले बोलाएपछि हतारिँदै कुर्सीबाट उठेका शर्मा दौडिँदै मर्यादापालकको सहयोगमा रोष्टम छिरे । उनी रोष्टममा पुग्दैगर्दा यता एमाले सांसदहरु भने रोष्टमअघि विरोध गरिरहेका थिए । 

हतारिँदै रोष्टम पुगेका अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश र आर्थिक अध्यादेश सदनमा पेश गरेका छन् । 

सभामुख र प्रेम सुवालको सवाल-जवाफ 



सदनको कारवाही सुरु गर्दै सभामुख सापकोटाले ‘आर्थिक अध्यादेश–२०७८’ अस्वीकार गर्ने सूचना आएको भन्दै प्रेम सुवाललाई आफ्नो वक्तव्य दिन समय दिए । सभामुख सापकोटाले उनलाई आफ्नै ठाउँबाट वक्तव्य दिन अनुरोध गरे । 

आफ्नो वक्तव्य पढिसकेपछि सुवालले विपक्षीले नाराबाजी गरिरहेको भन्दै प्रमुख प्रतिपक्षको मागलाई सम्बोधन गर्न आग्रह गरे । साथै, आफ्नो अस्वीकार प्रस्ताव पेश नगर्ने जानकारी दिए । 



उता, रोष्टमबाट सभामुख सापकोटाले भने सुवालले आफ्नो प्रस्ताव फिर्ता लिएको जानकारी दिए । अर्थमन्त्री रोष्टममा नपुग्दै सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न नपरेको व्यहोरा जानकारी गराए । त्यसपछि आर्थिक अध्यादेश–२०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नका लागि अनुमति अर्थमन्त्रीलाई दिए । शर्माले प्रस्तुत गरे । 

शर्माले प्रस्तुत गरिरहँदा संसदको रेकर्डमा सभामुख सापकोटाले बोलेको एउटा अडियो सुनिन्छ । जहाँ ‘अब त सररै हो नि !’ भनेर सभामुखले भनेको सुनिन्छ । 
सभामुखले त्यो अडियोमा भनेको जस्तै आफ्ना अरु कारवादी ‘सररै’ अघि बढाए । एमालेको अवरोधकाबीच सभामुख सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत गराउँदै अघि बढे । 

त्यसपछि पुनः सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश अस्विकारको प्रस्तावका लागि समय दिए । त्यसपछि सुवालले आफ्नो असन्तुष्टि राखे । 
उनले भने,‘सभामुख महोदय, मैले अघिल्लो प्रस्तावलाई पेश नै गरेको छैन् । मैले फिर्ता लिएको होइन् । मैले वातावरण तयार गरिपाऊँ भनेर आग्रह गरेको थिएँ । मैले त्यो प्रस्ताव पेश गर्न पाउनुपर्छ सभामुख महोदय ।’ 

आफूले पेश नै नगरि त्यो प्रस्तावलाई अघि बढाउनु संसदीय मर्यादा र नियमावलीले नदिने बताए ।  

त्यसपछि सुवालले विवादित एमसिसी परियोजनाको बारेमा वक्तव्य राखे । त्यसपछि उनले पुनः वातावरण तयार गरेर रोष्टमबाटै प्रस्तुत गर्नका लागि आग्रह गरे । 
सभामुख सापकोटाले अस्वीकार प्रस्ताव फिर्ता भएको मानिने जानकारी गराए । 

त्यसपछि उनले अर्थमन्त्रीलाई प्रश्नको जवाफ दिन लगाए । एमाले विरोध गरिरहेको थियो । अर्थमन्त्रीले आफ्नो ध्यानाकर्षण भएको भन्दै भनाई सके । 
पुनः उनले प्रेम सुवाललाई प्रस्ताव फिर्ता लिनका लागि समय दिए । 

उनी यो पटक रोष्टमबाटै वाचन गरेर पेश गर्ने वातावरण मिलाउन भन्दै बसे । त्यसपछि सभामुखले सुवाललाई  सोधे–फिर्ता लिनु भयो कि भएन् ? प्रष्ट भनिदिनुप¥यो ।’
सुवालको जवाफ थियो–मैले स्पष्टसँगै भनेको रोष्टमबाटै यसलाई वाचन गर्ने व्यवस्था हुनका लागि फेरि आग्रह  गर्न चाहन्छु । 
सभामुख सापकोटाले यथास्थानबाट प्रस्तुत गर्न आग्रह गरे । 

त्यसपछि ‘माइक माइक’ भन्दै उठेका सुवालले आफूले बोलेको आवाज नै प्रष्ट नहुनेगरी प्रतिपक्षीले नारा लगाइरहेको भन्दै रोष्टमबाटै प्रस्तुत गर्न पुनः भने । उनले भनेका थिए,‘प्रमुख प्रतिपक्षीले मैले बोलेको नसुनिनेगरी नारा लगाइरहेको अवस्थामा रोष्टमबाटै प्रस्ताव प्रस्तुत गर्ने व्यवस्थ गर्न फेरि सभामुख महोदयलाई आग्रह गर्दछु ।’ 

सभामुखले सुवालले फेरि भने,‘म फेरि तपाईंलाई आग्रह गर्छु । मैले रुलिङ गरिसकेँ । तपाईं त्यहीँबाट आफ्नो भनाई राख्नुस् ।’ 

‘अब यहीँबाट राख्नका लागि प्रमुख प्रतिपक्षीको  नारा छ । अब कसरी स्पष्टै हुँदैन्’ सुवालले प्रतिप्रश्न गरे । 

त्यसपछि सभामुख आक्रोशित हुँदै भने,‘मैले यतिकुरा भनेँ । सवाल-जवाफ भन्दापनि आफ्नो सुरु गर्नुस्’

सुवालले पुनः आग्रह गरिरहे । 

‘रोष्टमबाटै प्रस्ताव राख्ने व्यवस्था मिलाउन आग्रह गर्न चाहन्छु,’ सुवालले भने । 

सभामुखको जवाफ थियो–‘तपाईं त्यहीँबाटै राख्नुस् ।’ 

‘होइन रोष्टमबाटै राख्ने व्यवस्थाका लागि आग्रह गर्न चाहन्छु,’ सुवालले फेरि भने । 

त्यसपछि सुवालका कुरा सुन्नतिर सभामुख सापकोटा लागेनन् । 

उनले सिधै घोषणा गरे– ‘माननीय प्रेम सुवालले आफ्नो प्रस्ताव फिर्ता लिन नचाहनुभएको हुनाले राष्ट्र ऋण उठाउने अध्यादेश–२०७८ लाई अस्वीकार गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गर्दछु ।’ 

उनले निर्णयार्थ सुनाए । 

उक्त प्रस्तावको पक्षमा सुवाल एक्लैले हात उठाए । हुँदैन भन्ने पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरुको हात उठ्यो । 

उक्त अध्यादेशको छलफल सकेर पुनः सभामुखले सुवाललाई समय दिए । 

विनियोजन अध्यादेश–२०७८ अस्वीकार गर्न सूचना दिएको भन्दै उनलाई समय दिएका थिए । 

सभामुखसँग दुई पटक मुकाविला गरिसकेका सुवाल यो पटक भने गले । 

सुवालले भने– ‘सभामुख महोदय, प्रमुख प्रतिपक्षीले नारा गरिरहेको अवस्थामा वाचन चाँही रोष्टमबाटै गर्न पाए हुन्थ्यो ।’ 

सुवालले अध्यादेशमाथि प्रश्न गरिरहँदा अर्थमन्त्री शर्मा भने रोष्टममै उभिरहेका थिए । उनी रोष्टमबाट तल झरेनन् । त्यहीँ उभिएर उनले प्रश्न आफ्नो डायरीमा टिपिरहेका थिए । 

सुवाल बोलिरहँदा सभामुख सापकोटाले समय सकिएको भन्दै थिए । तर, सुवाल भने समय नसकिएको भन्दै आफूलाई सभामुखले समय नदिएको बताउँदै थिए । सभामुखले विषयमा आउन भनिरहेका थिए । 

सभामुख भन्दै थिए– ‘समय सकियो, विषयमा आउनुस् माननीय ।’ 

तर, सुवालले भनेका थिए– ‘सभामुख महोदयले मलाई समय दिनुभएको छैन् । समय सकिएको छैन् ।’ 

‘मैले ३ मिनेट भनेको छु,’ सभामुखको जवाफ थियो । 

उनी बोल्दाबोल्दै माइक काटियो ।  

माइक काटेपछि दुईपटक माइकमा ‘फू–फू’ गर्दै सुवाल थचक्क बसे । 

संसदमा भाँडभैलो चलिरहँदा सभामुख सापकोटाले पेलेरै ३ वटा अध्यादेश पेस गरे । सत्ता गठबन्धनका सदस्यहरुको बहुमत भएको भन्दै ३ वटै प्रस्ताव सभामुखले स्वीकृत गरे । 

त्यसपछि बैठक पुनः १५ मिनेटका लागि स्थगित गरेर सभामुख आफ्नो कक्षतिर दौडँदै लागे ।

  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १५:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया