[कविता] सम्बन्धको पाठशाला

म तिमीमा उज्यालाे भेट्छु

भगवान शिवप्रतिको असीम श्रद्धा 
घरको मूलद्वारमा फुलेको धतुरो फूल
ध्यानस्थ योगीझैँ तेजिलो अनुहार
हिमतालजस्तो स्थिर आँखा 
चट्टान फोड्ने हाँसो 
र, तिमीभित्र नअटाएर बेलाबेलामा 
मसम्म आइपुग्ने मौनताको त्यो सङ्गीत 
कहाँ लुकाएकी छ्यौ जिन्दगीका गुनासाहरू
म अक्सर तिमीमा उज्यालो भेट्छु । 

कसले भन्छ, बुढ्यौली पाकेको छ तिम्रो कपालमा
कसले भन्छ, ढल्किसकेको छ तिम्रो उमेर 
जिन्दगीको जबरजस्त पडाड चढेपछि
पाएकी हौ तिमीले हिमालको कञ्चनपना 
सिँढीजस्तो टकटक उक्लिएर उमेरलाई 
आफूभित्र भेटेको उचाइ, हो तिम्रो प्रौढता 

कस्तरी माझेकी तिमीले जिन्दगीलाई 
(सप्रेम स्विकारेपछि पीडा पनि खुसी बन्दो रहेछ 
(दुःख पनि साथी हुँदो रहेछ । 

बेपरबाह छाडेर
माइलस्टोनजस्तो ठाउँठाउँमा भेटिने सम्बन्धहरू
कस्तरी हिँड्न सकेकी तिमी रु
निर्मोही त तिमी पक्कै पनि होइनौ 
के तिमीलाई त्यो पर देखिने अँध्यारोको डर लाग्दैन रु

सपनाजस्तो आफैबाट टाढिएको त्यो सम्बन्ध
एकसाथ देख्न चाहेर पनि 
उसले नबुझेका तिम्रा सपनाहरू
तिम्रै छोरीको आँखामा फैलिएको असीमित उज्यालो
छोराको सफलतासँग जोडिएको तिम्रो खुसी
या ठाउँठाउँमा अल्झाउन खोज्ने
जङ्गली काँडाजस्ता सम्बन्धहरू 
कहाँ लुकाएकी छ्यौ जिन्दगीका गुनासाहरू 
म अक्सर तिमीमा उज्यालो भेट्छु ।



सम्बन्धले थिचिएर भागेकाहरूको यो भीडमा 
तिमी छ्यौ सम्बन्धकी बेगम
र, सिङ्गो सहर मागिरहेछ तिमीसँग सम्बन्धको भीख

यति नै खेर 
पानीमा लेखिएको नाम 
र बालुवामा कोरिएका धर्साहरूजस्ता सम्बन्ध बुझ्न
म तिमीसम्म आइपुगेको छु । 



उमेरको यो मझधारमा 
तिमीसँग हिँडिरहँदा मलाई लाग्यो 
तिमी सम्बन्धको पाठशाला हौ ।

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार ७:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया