[कविता] जूनको उद्धार

जूनेली देशको कुनै कञ्चन ताल
तालमा डुबिरहेको थियो चम्किलो जून ।
पूर्णिमाको रात एक भोको मछुवा आयो 
र फाल्यो बल्छी जूनको छेउमा । 

निस्कियो एक मसिनो छप्लाङ्ग आवाज
र तरङ्गहरूमा केही बेर जून हल्लियो ।

धरतीमा दु:ख र अभावसँग लड्दा लड्दै 
कहिल्यै आकाश हेर्न नभ्याएका चिन्तित मानिसहरूले 
जूनेलीमा पछ्याउन थाले मछुवालाई । 

पुग्यो बल्छी तालको पिँधमा
र अड्कियो कतै ढुङ्गाको कापमा । 

मछुवा खुसीले उत्तेजित भयो । 

आफ्ना सारा परिवारको भोक टार्ने 
विशाल माछा फसेको ठानेर 
जब मछुवाले तान्यो बल्छी 
अरबौँ कोषको तागत लगाएर
धागो चुँडियो 
मछुवा पल्टियो जमिनमा उत्तानो परेर । 



देख्यो उसले 
आकाशमा पूर्णिमाको जून मुस्कुराईरहेको थियो । 

मछुवा पनि मुस्कुरायो एक कुटिल मुस्कान 
किनभने जन्मेको थियो उसको दिमागमा एक कुटिल विचार, 
भुइँमा बज्रिँदा
दुखेको टाउको सुम्सुमाउँदै भन्यो मानिसहरूलाई
आकाशमा हेर 
केवल तिमीहरूका लागि
बल्छी खेलेर मैले जूनलाई आकाशमा पठाइदिएको छु 
ज्यानको बाजी थापेर 
मैले जूनको उद्धार गरिदिएको छु ।



मानिसहरूले वर्साैंपछि आकाश हेरे 
आहा ! तालको जून आकाशमा चम्किरहेको थियो । 

त्यही थियो पहिलो अवसर 
झुटा शब्दको बल्छी खेल्ने कोही मानिस
जूनेली देशमा नेता भएको थियो । 

(लाेककथामा आधारित)

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार ८:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया