[निबन्ध] पानी
भीष्म उप्रेती
फरकधार / २६ भदौ, २०७८

यो संयोग नै हो, म घरको कौसीमा बसेर जापानी लेखक हिसाशी इनोउएले लेखेको ‘द वाटर लेटर्स’ नामको ड्रामा पढिरहेको छु । किताब पढ्न सुरु गरेको केही छिनमै आकाशबाट पानी पर्न थालेको छ झमझम- असारे झरी ।



आँखा हिसाशीका शब्दहरूमा छन् र कान बाहिर दर्किरहेको पानीको सुमधुर सङ्गीतमा । पानीका अनेक कथाहरू छन्, हुन सक्छन् । बाढी बनेर अन्धाधुन्ध उर्लेको क्षणको आतङ्क बाहेक अन्य समयमा पानी जीवनको स्रोत हो, पारदर्शिता र भावनाको प्रेरणा हो, पानी कोमलता र अनुभूतिको छालहरूको प्रतीक हो ।

हिसाशी लेख्छन्-

“पृथ्वी पानीले भरिएको छ
........
........
हामी प्रत्येक व्यक्ति
यस पृथ्वीमा पानीबाटै आएका हौँ...
आमाको पेटको समुद्रको पानीबाट,
त्यसैले हाम्रो शरीरको प्रत्येक भागमा पानी छ
केवल पानी छ....



हाम्रो शरीरमा साठी प्रतिशत पानी छ
हाम्रो रगतमा असी प्रतिशत पानी छ
हाम्रो मस्तिस्कमा असी प्रतिशत पानी छ
........
........
पानीले नै हामीलाई जीवन दिएको छ
त्यसैले हामी अरू केही होइनौँ
केवल पानी हौँ !”
        (द वाटर्स लेटर्स, प्रकाशकः द जापान पेन क्वल, २०१०, पृष्ठ ९-१०)

सिसाशीको यो नाटक मैले सन् २०१० को सेप्टेम्बरको अन्तिम सातामा जापानको टोकियोको प्रसिद्ध वासेदा विश्वविद्यालयको प्रेक्षालयमा बसेर हेरेको थिएँ । त्यहाँ जापानी कलाकारको जादूमय अभिनय, प्रकाश र आवाजको अति सुन्दर संयोजनले मलाई नाटकघरबाट बाहिर निकालेर झन्डैझन्डै समुद्रीकिनारको खुला मैदानमा पुर्‍याएकाे थियो । म समुद्र, लहर, रङ, आवाज र अनुभूतिको समवेत स्वरले छोइएको आनन्दले अभिभूत भएको थिएँ । नाटक हेर्दाहेर्दै मभित्र उकुसमुकुस भएर उठिरहेका भावनाका छालहरूलाई व्यवस्थित गर्न मैले डायरी र कलम निकालेर अन्धाधुन्ध लेखेको थिएँ । आज एघार वर्षपछि हिसाशीको त्यही नाटक पुनः पढ्दै गर्दा म त्यही वासेदा विश्वविद्यालयको प्रेक्षालयमा पुगेको छु र झन्डैझन्डै त्यही भावनाले भरिएको छु । मसँग अहिले पनि त्यसदिन मैले अन्धाधुन्ध लेखेका भावनाहरूले भरिएको डायरी छ । म त्यसलाई पल्टाउँछु र पढ्छु । 

शायद तिमीले मलाई मान्छे मात्र देख्छौ होला
तर मेरो गति भनेको पानीको प्रवाह हो
मेरो आवाज भनेको पानीको सङ्गीत हो
मेरो मुस्कुराउनु पानीको मसिनो लहर र सेतो फिँज
मेरो आक्रोश भनेको पानीको तीव्र प्रवाह हो
बाढी हो...

म पानी नै हुँ
मेरो भावना पानी हो
मेरो अनुभूति पानी हो
मेरो जमिन पानी हो
आकाश आएर बसेको छ पानीमा
आकाशको नीलो रङ बसेको छ
घाम बसेको छ
जून र ताराहरू बसेका छन् पानीमा
मेरो विश्वब्रह्माण्ड पानी हो....

त्यस थिएटरमा बसेको एक घन्टाभन्दा पनि कम समयमा मैले उदात्त भावनाका यस्ता अनेकौँ टुक्राहरू लेखेको रहेछु । पानीलाई समर्पित ती अक्षरहरू, शब्द र तीभित्रका भावनाहरूलाई जति स्पर्श गर्दैछु त्यति नै म भिजिरहेको छु, म त्यही पलले दिएको एउटा बेग्लै आनन्दले अभिभूत भइरहेको छु । मलाई लागिरहेको छ– म पानी बन्दै गइरहेको छु, छचल्किइरहेको छु, गुञ्जिरहेको छु र बगिरहेको छु ।

म सन् २००० को मे महिनामा पहिलोपल्ट समुद्रमा पुगेको हुँ । बेलाइतको बोर्थमाउथ भन्ने ठाउँको समुद्रीकिनारमा त्यस साँझ म करिव तीन घन्टा समुद्रसँग खेलेर बसेँ । समुद्रमा जाँदा म एक किसिमले भन्दा हिमाल भएर गएको थिएँ, सगरमाथा भएर गएको थिएँ, अन्नपूर्ण र कञ्चनजङ्घा भएर गएको थिएँ । साँझको समुद्रीकिनारमा पहेलिँदै गएको घामको प्रकाशमुनि एउटा ढुङ्गामाथि बसेर पाउमा छुन आइपुगेका पानीका लहरहरूसँग जब खेल्न थालेँ, पानीको पहिलो स्पर्शमै मभित्रको हिमाल एकाएक पग्लियो, म समथर बनेँ र बगेँ अनुभूतिभरि, भावनाभरि । त्यसपछि म पानी बनेँ, समुद्र बनेँ । अब त्यो बेलाको अनुभूतिलाई कसरी व्यक्त गर्नु ? त्यो अनुभूति र  वासेदा विश्वविद्यालयको थिएटरको अनुभूति ठ्याक्कै एकै थियो । अशान्त तर शब्दहीन ! कस्तो अचम्म !

मैले त्यहीँ, बोर्नमाउथको समुद्रीकिनारमै डायरी झिकेर लेखेको थिएँ- 
जब मैले समुद्रलाई देखेँ
नीला उज्याला आँखा भएकी
सुन्दरी समुद्र मुस्कुराइरहेकी 

म आफू आएको
पहाडजस्तो ठूलो र बलियो छाती भएको
छोराको देशबाट 

अहा ! कति रमाइलो हुन्थ्यो होला
यी दुइटालाई जोड्ने
एउटा पुल हाल्न पाए !

मलाई
यो समुद्र र त्यो पहाडको बीचमा
विहे गरिदिन मन लाग्यो । 

मैले त्यस साँझ कुन भावना र कुन प्रेरणाले लेखेँ हुँला यो कविता ! म सधैँभरि आफूभित्र हिमाल छ भन्थेँ । यी दुई घटनापछि मैले बुझेँ, मभित्र समुद्र पनि छ । मभित्र हिमाल र समुद्र दुवै छ । हिमाल र समुद्र दुवै बोकेको हृदयभन्दा सम्पन्न अरू के हुन्छ ? मलाई मुस्कुराउन मन लाग्छ ।

मेरा कविताहरू पढेपछि धेरैले भनेका छन्- तिमी प्रकृतिको कवि हौ । कसैकसैले त मलाई उडाउने गरी भन्ने गरेका छन्– उसको कवितामा मान्छे छैन, प्रकृति मात्र छ । मलाई अचेल यस्ता टिप्पणीले झनै खुशी बनाउँछन् । प्रकृति भनेको के हो ? हामी सबैभन्दा माथि रहेको, हामी सबैले अनुभूत गरेको तर नदेखेको सोचको सत्यले गरेको सृजना हो, उसको कृति हो । हामीलाई जन्माउने माध्यम अरू नै कोही भए पनि प्रकारान्तरले हामी पनि उसैका कृति हौँ । हामी केही कविता, आख्यान लेखेर वा केही चित्रकला बनाएर आफूलाई सर्जक भन्दछौँ । तर हामीलाई सिर्जना गर्न लगाउने पनि उही हो । किनभने, हामी जसरी हरेक क्षण मान्छे भनिन्छौँ, मान्छे देखिन्छौँ, मान्छे भएर नै सामाजिक व्यवहार गर्दछौँ, किन यसरी नै हरेक क्षण कवि, कलाकार वा सर्जक हुँदैनौँ ? त्यो कलाको आवेग किन हामीमा कुनैबेला अचानक बाढीजसरी आउँछ र हामी मार्फत व्यक्त भएर गइहाल्छ । त्यसपछि फेरि हामी आफै‌ले गरेको सिर्जना हेरेर मुग्ध हुन्छौँ ? हामीले गरेको सिर्जना पनि प्रकृतिकै सिर्जना हो, प्रकारान्तरले प्रकृति नै हो । हाम्रो सिर्जना भनेको हामीलाई प्राप्त आशीर्वाद हो ।

मभित्र जब यसरी सिङ्गै प्रकृति बसेको छ भने मैले लेखेको कुरा अरू के हुन्छ त ? तर त्यो मान्छेकै लागि हुन्छ, केवल प्राणीहरूकै लागि हुन्छ । किनभने, प्रकृति मानिस बाहिर मात्र होइन, मानिसभित्र समेत हुन्छ । यो बेग्लै कुरा हो कि यो सत्यलाई सबै हृदयले मनन् गर्न सक्दैनन्, चिन्न र अनुभूत गर्न सक्दैनन् । 

अहिले पनि म कुनै बेला हिसाशीका अक्षरहरूसँग हुन्छु भने कुनै बेला बाहिर परिरहेको पानीका थोपाहरूसँगै बर्सेको अनुभूत गरिरहन्छु । प्रत्येक थोपा एउटा सिङ्गै जीवन बोकेर आएको छ । त्यो खस्छ जमिनमा, जमिनलाई भिजाउँछ, कमलो बनाउँछ, बीजभित्र प्राण बनेर प्रवेश गर्दछ र अङ्कुराउँछ । हुर्कन्छ, फुल्दछ र फल्दछ रसदार भएर । पानीमा रङ हुँदैन भनिन्छ । तर रङ बन्नलाई पानी नै चाहिन्छ । जब सुक्खा बगरमा पानीको थोपा पर्दछ, बगरले रङ पाउँछ । जब वृक्षमा पानीको थोपा पर्दछ, वृक्षले रङ पाउँछ । जब वृक्षमा फल लाग्दछ, फलले रङ पाउँछ । जब प्यासी मान्छेले पानीको थोपा पाउँछ, तब उसको अनुहार र सन्तुष्टीमा रङ फर्कन्छ । जहाँ जीवन मुस्कुराउँछ, त्यहाँ इन्द्रेणी लाग्दछ । घाम पानीको अन्तरक्रिया इन्द्रेणी हो । त्यसैले पानीको रङ नभए पनि रङ भनेको चाहिँ पानी हो । आफूभित्र पानी नै पानी बोकेर हिँड्ने मान्छेले जीवनका विविध रङहरू पनि बोकेर हिँड्दछ । आफूभित्रका विकारहरू र काला अँध्याराहरूलाई त्यही पानीले पखाल्दछ । जसले प्रकृतिका विविध रङहरू बोकेर हिँड्दछ, ऊ सिर्जनात्मक बन्दछ, उसैले अपार आनन्दको स्पर्श गर्दछ । जसले केवल आनन्दको स्पर्श गर्दछ, ऊ लालच र वासनाको दलदलभन्दा माथि हुन्छ । जो वासना र लालचको दलदलभन्दा माथि हुन्छ, ऊ परम प्रकृति अथवा ईश्वरको आशीर्वादको लायक रहन्छ । चरम भौतिकतामा भासिएर जीवनको सतही भौतिक सुखलाई नै सर्वोच्च भएको भ्रमपूर्ण मायामा अलमलिएकाहरूलाई यो सिर्जनशीलता, यो प्रकृतिको असिम कृपा प्राप्त हुँदैन । कृपा प्राप्त नभएको जीव केवल भौँतारिन्छ, असन्तोष र अप्राप्तिले छटपटाउँछ । 

यस सत्यको बीचमा मलाई उनीहरू भन्दछन्- ‘त्यसले प्रकृति मात्र लेख्दछ ।’

यो धर्तीमा जब जीवको उत्पत्ति भयो, पानीबाट भयो- विज्ञानले भन्दछ । सबैभन्दा पहिला घस्रने जीवको विकास भयो । घस्रने जीव पानीबाट आयो र बिस्तारै जमिनमा टेक्यो । अनि विकासले काँचुली फेर्दै जाँदा प्रकृतिको कृपा पाएर उसले अन्य अवतार धारण गर्दै गएर आजको मान्छे बनेको हो- जीव विज्ञानले यही भन्दछ । त्यसोभए हामीले पछाडि फर्केर हेर्दा के देखिन्छ ? पानी देखिन्छ जहाँबाट हामी यस धरामा आयौँ । पानी मान्छेको सभ्यताको धरातल हो, आधार हो । र, अहिले हामी मान्छेकै उपद्रो र अतिशयोक्तिपूर्ण व्यवहारले विश्वभरिको तापक्रम बढिरहेको छ । प्रकृतिको सन्तुलन भत्कँदै गएको छ । असन्तुलनको अर्को नाम प्रलय हो । पानीको सन्दर्भमा प्रलय भनेको बाढी हो, असिना हो, र, कहिलेकाहीँ अनावृष्टि पनि हो । हिउँ पग्लँदै हिमालहरू सुक्खा हुँदै जानु हो । त्यो भइरहेको छ । समय असमयमा मानिसलाई उसको उद्दण्ड व्यवहारका लागि प्रकृतिको चेतावनीको रूपमा बाढी आइरहेको छ, पहिरो खसिरहेको छ। खडेरी परिरहेको छ । कता कता मानिसमा पानी नहुनु वा घट्दै जानुको व्याकुलता देखा पर्न थालेको छ । आफ्नै भोलिको लागि मानिस आत्तिन लागेको आभास हुन थालेको छ । तर, तैपनि मानिसको व्यवहारमा उही छ, अहङ्कारमा उही छ, स्वभावको जिद्दीपनामा उही छ । 

आफूभरि हिमाल र समुद्र दुवै अर्थात् सिङ्गै प्रकृति बोकेर हिँडिरहेको म मानिसको स्वभावको अटेरीपन र अहङ्कारलाई अस्वीकार गर्दछु । म पानीको बन्दना गर्दछु, प्रकृतिको पक्षमा आराधना गर्दछु । मेरो पुर्खा पानी हो, मेरो जीवनको स्रोत पानी हो, मेरो जीउँदो हुनुको आभास र अनुभूति पानी हो ।  

अझै पनि पानी परिरहेको छ । म लोरी जसरी पानीको सङ्गीत सुन्दै मेरा प्रिय लेखक हिसाशीलाई पढिरहेको छु-

“....................................
......................................
...................................
गाउँबाट पानी हराउँछ
गाउँबाट मानिसहरू हराउँछन्
गाउँबाट पानी हराउँछ
गाउँबाट मानिसहरू हराउँछन्
गाउँमा आत्मा समेत छोडिएको छैन ।”
        (द वाटर्स लेटर्स, प्रकाशक  : द जापान पेन क्वल, २०१०, पृष्ठ १२)

“....................................
......................................
...................................
काबुलको नदीको पानी जापानको नदीको पानी हो
जापानको पानी संसारको पानी हो
पानी जहाँतहीँ जान्छ....यो संसारभरि जान्छ
पानी एकल शरीर हो.....संसार एकल शरीर हो”
        (द वाटर्स लेटर्स, प्रकाशक : द जापान पेन क्वल, २०१०, पृष्ठ २०)

....................................
......................................
...................................
सबैभन्दा सानो शिशु भन्छ- म पानी हुँ ।”
        (द वाटर्स लेटर्स, प्रकाशकः द जापान पेन क्वल, २०१०, पृष्ठ २३)

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार ९:१०:३५,   अन्तिम अपडेट : भदौ २६, २०७८ शनिबार १०:९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया