दशरथ रंगशाला ‘होम अफ नेपाली फुटबल’ रुपमा चिनिन्छ । नेपाली फुटबलको ‘होम’ भनिए पनि दशरथ रंगशालामा महिला सिनियर फुटबल टोलीलाई कहिल्यै प्रवेश गर्न दिइएन ।
नेपाली महिला सिनियर फुटबल टोलीले दशरथ रंगशालामा राष्ट्रिय जर्सी र बुटमा प्रवेश पाउन निकै लामो प्रतिक्षा गर्नुपर्यो ।
यो प्रतिक्षा तोडियो हिजो बिहीबार ।
बिहीबार दशरथ रंगशालामा नेपाली दर्शकले नयाँ दृश्य देख्न पाए, जहाँ पुरुष होइन महिला राष्ट्रिय टोलीका खेलाडी खेलिरहेका थिए । उक्त खेलमा नेपाली महिला टोलीले बंगलादेशलाई २–१ गोलले पराजित गर्यो ।
यो नै नेपाली महिला सिनियर फुटबल टिमले दशरथ रंगशालामा खेलको पहिलो अन्तराष्ट्रिय खेल हो । प्रवेश र जीत खेल दुवै हिसाबले सुखद रह्यो ।
बिहीबारको खेलमा चार जना नेपाली महिला खेलाडीले डेब्यु गरेका थिए । तीमध्ये सबिता राना मगर र प्रिती राईको गोलमा नेपालले बंगलादेश विरुद्धको अपराजित यात्रालाई निरन्तरता दियो ।
युवा खेलाडीको बाहुल्यता रहेको टोलीले यसपटक घरेलु मैदानमा खेल्दा एसियन कप छनोटको तयारीस्वरुप यो मैत्रिपुर्ण खेल खेलेको थियो ।
टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ चोटका कारण टिममा नपर्नु र अर्की फरवार्ड शर्मिला थापा टोलीमा छनोट नहुनेले पनि नवप्रवेशी खेलाडीलाई अवसरको ढोका खुलेको थियो । सबिता र प्रितीसँगै बिहीबारको खेलमा सिर्जना सिंह र रश्मि कुमारी घिसिङले पनि डेब्यु गरेका थिए ।
प्रिती राई
नेपाली महिला फुटबलको भविष्य हुन्– प्रिती राई । भर्खरै १६ बर्ष भएकी प्रितीले उमेर समुह तथा एपीएफ क्लबबाट खेल्दै गर्दा पहिलो पटक राष्ट्रिय टोलीमा छनोट भएकी हुन् ।
क्लबबाट मिडफिल्डमा खेल्दै आएकी उनले राष्ट्रिय टोलीमा भने फरवार्डका रुपमा डेब्यु गरिन् । छिटो छरितो रुपमा खेल्ने प्रितीले पहिलो हाफको २३ औं मिनेट गोल गरेकी थिइन् ।
नेपाली महिला फुटबलमा पहिलो पटक विदेशी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । उनले प्रितीलाई डेब्यु खेलमा फरवार्डमा खेलाए । उमेर समूहको नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेकी प्रितीले उमेर समूहमा कप्तानीसमेत गरिसकेकी छन् । गत सिजनदेखि विभागीय नेपाल एपिएफ क्लबबाट व्यवसायिक खेल खेलिरहेकी छिन् । उनी १३औं सागको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा पर्न सकेकी थिइनन् ।
उनले राष्ट्रिय टोलीको डेब्यु खेलमा गरेको प्रदर्शनले नेपाली महिला फुटबलमा आशा जगाएकी छन् ।
सबिता राना मगर
नेपाली राष्ट्रिय टोलीबाट बिहीबार डेब्यु गर्ने अर्की खेलाडी हुन्– सबिता राना मगर । उनले उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । रौतहटकी सविताले पछिल्लो महिला राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेकी थिइन् ।
सबिताले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गरेकी छन् । बिहीबार भएको खेलको १३औं मिनेटमा सविताको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । विमला चौधरीको क्रसलाई सविताले बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेड मार्फत बललाई जाली चुमाएकी थिइन् ।
सबिता र प्रितीसँगै सिर्जना र रश्मि पनि राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सिर्जनाले हिराकुमारी भुजेललाई प्रतिस्थापन गरेकी थिइन् । उनी खेलको ८२ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । यस्तै फरवार्ड रश्मी कुमारी घिसिङले ८५औं मिनेटमा मन्जली कुमारी योन्जनको स्थानमा मैदान छिर्दै सिनियर टोलीमा डेब्यु गरेकी थिइन् । रश्मी गत वर्ष आर्मीमा अनुबन्धित भएकी थिइन् ।
कीन दर्शक कम ?
महिला टोलीको खेलमा धेरै दर्शक हेर्न आउँदैनन् जति पुरुष टिमको खेल हेर्न आउने गर्छन् । बिहीबारको खेलमा पनि दशरथ रंगशालामा धेरै दर्शक थिएनन् ।
एक हप्ताको अन्तरालमा भएको महिला र पुरुष मैत्रीपूर्ण खेलमा पुरुषमा भएको खचाखच दर्शकको चाप महिलामा भने लगभग शुन्य जस्तै देखियो ।
टिकट दरकै कुरा गर्ने हो भने पनि पुरुष टोलीको मैत्रीपूर्ण खेलमा भीआइपी प्याराफिटको टिकट दर २ हजार रुपैयाँ थियो , महिला टोलीको मैत्रीपूर्ण खेलमा भने ५ सय रुपैयाँ रहेको थियो ।
पुरुष टोलीको सामान्य टिकटदर १ हजार रुपैयाँ रहेको थियो भने महिला टोलीको मैत्रीपूर्ण खेलको लागि २ सय रुपैयाँ मात्र राखिएको थियो । टिकटदर सस्तो हुँदा पनि नेपाली महिलाको खेलमा दर्शक थिएनन् ।
महिला फुटबलको चर्चा कम हुनु र तिजको दिन पनि परेको हुनाले महिला फुटबलमा दर्शक कम आएको अनुमान गरिएको छ ।
बंगलादेशसँग दोस्रो मैत्रिपूर्ण खेल आइतबार दशरथ रंगशालामा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।