म्याग्दी- म्याग्दीमा पहिलोपटक आयोजित खुला चंगा चेट प्रतियोगिताको उपाधि काठमाडाैंका अविनाश राजभण्डारीले जितेका छन् ।
दसैं–तिहारमा उडाइने चंगा विस्तारै लोप हुन थालेपछि सदरमुकाम बेनीको शिरमा अवस्थित आकर्षक पर्यटकीय गन्तव्य लभ्लीहिलमा शनिबार आयोजित प्रतियोगिता प्रदेश सांसद विनोद केसीले उद्घाटन गरेका हुन् ।
प्रतियोगिता उद्घाटन गर्दै केसीले नयाँ पुस्ताले परम्परागत गतिविधिमा रुचि राख्न छाडेकोमा चिन्ता व्यक्त गरे । दसै–ंतिहारको अवसरमा चंगा र पिङ लोप हुन लागेको बताउँदै उनले स्थानीयले परम्परालाई जोगाउन सक्रियता देखाउनुपर्ने बताए ।
‘युवापुस्ता विदेश पलायन भइरहेको छ, बूढापाकामा चासो छ, जाँगर छैन,’ सांसद केसीले भने । उनले पुराना कला र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यले जिल्लाको पर्यटन विकासमा समेत सघाउने बताए ।
सांसद केसीले नेपाली कला र संस्कृतिको जगेर्ना गर्न सके मात्र विदेशीलाई सजिलै आकर्षित गर्न सकिने बताए । उनले प्रदेश सरकारले पुराना चौतारा, मठमन्दिरको संरक्षण गरिरहेको बताउँदै यस्ता गतिविधिमा नियमित बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित लभ्लीहिलमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रमा बेनी नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
कुल १६ जनाको सहभागिता रहेको प्रतियोगितामा हिस्तान दोसल्लेका मखन पुन, पर्वतका सुशील मल्ल, आयोजक गँगटा युवा क्लबका रेशम पुन सेमिफाइनमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार र ट्रफी हात पारे । सेमिफाइनल पुगेकालाई नगदसहित सम्मान गरिएको थियो ।
गँगटा युवा क्लब काठमाडांैको मूल आयोजनामा इभरग्रिन युवा क्लब, उत्साही समूह, बौद्ध युवा क्लब, जनजागृति युथ क्लब, कालीपुल युनाइटेड क्लब, स्मृति युथ क्लब, न्यु दोभान युवा क्लब र म्याग्दी लभर्स ग्रुपको संयुक्त आयोजनामा चंगा चेट कार्यक्रम गरिएको थियो ।
परम्परागत रुपमा चंगा उडाउने कार्यलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम गरिएकाले भविष्यमा पनि निरन्तरता दिने आयोजकले जनाएको छ ।
म्याग्दी भ्रमण वर्ष–२०७५ लाई सफल बनाउन चंगा उडाउने प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । चाडपर्वमा युवापुस्तालाई जुवातासमा आकर्षित हुने भएकाले पनि विभिन्न रचनात्मक कार्य सञ्चालन गरी युवालाई सहभागी बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।