कांग्रेसका २३ वर्षीय सभापति भन्छन् : यसकारण युवाहरू राजनीतिमा आउनुपर्छ

सधैंजसो महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा उमेरको विषयले चर्चा पाउँछ । ‘पार्टीमा बुढा नेताहरू ढिम्री कसेर बसे, युवाहरूले स्थान पाएनन्’ भन्ने चर्चा कांग्रेसवित्तमा अहिले पनि सेलाएको छैन ।

यतिबेला सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशले देशभरकै राजनीतिक माहाेल तताएको छ । देशभरका वडा स्तरबाट महाधिवेशनको चटारो सुरु भइसकेको छ। 

तर, क्रियाशिलता विवाद र मूल नेतृत्वका लागि देखिएको हानाथापका बीच अबको नेतृत्व कस्तो आउने ? भन्ने साझा प्रश्न सबैमाझ छ । युवाहरूलाई युग परिर्वतनका संवाहक भनेर भनिन्छ । तर, नेपाली राजनीतिमा भने युवाहरूको सहभागिता खोइ ? भनेर प्रश्न गर्नुपर्ने अवस्था छ । 

यही दौरानमा कांग्रेसको वडास्तरमा युवाहरूको वर्चश्व हावी हुँदै गएका दृश्यहरू एकपछि अर्को देखिन थालेका छन् । १९ वर्षीया किशोरी स्वस्तिका महत दैलेखको दुल्लु नगरपालिका-३ को वडा सभापतिमा निर्वाचित भएपछि झनै युवाहरूको भूमिकाका बारेमा बहस बढ्दै गइरहेकाे छ ।
 
उता, ललितपुरको महालक्ष्मी नगरपालिका-३ को वडासभापतिमा २३ वर्षीय सचिन घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीमा देखिएका युवाहरूमध्ये ३ जना नेतृत्वले महामन्त्रीकै लागि दाबी घोषणा गरिसकेका छन् । 

उता, ७५ वर्षका सभापति शेरबहादुर देउवा र ७६ वर्षका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको चाहनाले पनि उमेरको विषयले कांग्रेसमा चर्चा पाउन थालेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका-३ का सभापति सचिन घिमिरे अब हस्तक्षेपकारी भूमिका खेल्दै नेतृत्वमा युवाहरू स्थापित हुनुपर्ने भावनाबाट प्रेरित छन् । 



के भन्छन् सभापति घिमिरे ? 

०७४ सालको स्थानिय चुनावदेखि राजनीतिमा दत्तचित्त भएर लागेका हुन्- घिमिरे । सानो उमेरदेखि नै एउटै पुस्ता राजनीतिमा हावी भएको कुराले उनको मन चिथरिइरहन्थ्याे । एउटै पुस्ता राजनीतिमा हावी हुँदा यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने सोच घिमिरेमा पलाएको थियो । 



‘बच्चा हुँदादेखि नै राजनीतिलाई नियाल्दा एउटै पुस्तामात्र देखेँ । नेतृत्वमा सधैंजसो एउटै मान्छेमात्र हावी भएको देखेँ । यो व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने भएर म आफू यहाँसम्मको यात्रामा आइपुगेको छु’, घिमिरेले फरकधारसँग भने। 

कांग्रेसमा मात्र नभई नेपालका कम्युनिस्ट पार्टीमा पनि युवाहरूको भूमिका उल्लेखनीय देखिएको छैन । बुढा र युवा भनेर बहस चलिरहने कांग्रेसमा त झनै लामो समयदेखि उमेर पाकेका नेताहरूको रजगज नै थियो । 

तर, घिमिरेले राजनीति गर्नका लागि कांग्रेस नै रोजे । राजनीतिमा उदाउनका लागि किन नेपाली कांग्रेस नै रोज्नुभयो ? भन्ने फरकधारको प्रश्नमा घिमिरेको जवाफ छ-‘कांग्रेस पार्टी डेमोक्रेटिक पार्टी भयो । यसमा आफ्ना विचारहरू राख्न पाउने भयो । कम्युनिस्ट जस्तो जे भन्यो त्यही मान्नपर्ने अवस्था कांग्रेसमा छैन । आफ्ना आवाजहरू राख्न पाइने ठाउँ कांग्रेसमा छ । त्यसकारण कांग्रेस पार्टी चुज गरेको हो ।’

घिमिरेका अनुसार उनको परिवार पनि पहिल्यैदेखि कांग्रेस पार्टीमै आस्था राख्थ्यो ।

 के छ नयाँ सोच ? 

घिमिरे आफूमात्र नभई अब पार्टीमा काम गर्ने सबैजसो नेताहरू युवा हुनुपर्ने तर्क गर्छन् । सोही अनुसार आफू नेतृत्वको कार्यसमितिमा पनि ८० प्रतिशत युवाहरूको उपस्थिति गराएका छन् । उनले भने,‘मैले अहिले पार्टीको कार्यसमितिमा ८० प्रतिशत युवाहरू नै राखेको छु । नयाँ विचार नयाँ सोचसहित अगाडि बढ्नुपर्छ ।’

युवा नेतृत्वको सवालमा पार्टी गम्भीर बन्न नसकेको बताइन्छ नि भनी हामीले  सभापति घिमिरेलाई हामीले अर्को प्रश्न राख्यौं । यसकाे उनी जवाफमा भन्छन्, ‘पार्टी गम्भीर नभएको त होइन । शीर्ष नेताहरूलाई अहिले टिम वर्क हुन सकेको छैन । गुट बनाउने र असहयोग गर्ने अनि शीर्ष नेतालाई दाग लगाउनेभन्दा बाहेकको काम भएको छैन् ।’

‘युवाले हस्तक्षेप गर्नेपर्छ’

सानै उमेरमा वडा तहको पार्टीका सबै कामकारवाही सम्हाल्नुपर्ने महत्वपूर्ण जिम्मेवारी छ, घिमिरेलाई । पार्टी संगठन सुदृढ गर्नका लागि अब युवाहरूले हस्तक्षेपकारी भूमिका नै खेल्नपर्ने घिमिरे बताउँछन् । उनले भने, ‘युवाहरूले अब हस्तक्षेप गर्नैपर्छ । बुढापाकाहरूलाई हस्तक्षेपकारी भूमिका खेल्दै युवाहरूले भूमिका खेल्न सक्नुपर्छ ।’

त्यसो त, नेपाली कांग्रेसका ३ युवा नेताले अहिले महामन्त्रीमा दाबी घोषणा गरिसकेका छन् । विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेलले । 
तर, उनीहरू एकै ठाउँमा भन्दापनि अझै माथिको नेतृत्वका लागि दाबी गर्न सक्नुपर्ने घिमिरेको बुझाइ छ । उनले भने, ‘महामन्त्रीको कुरा गर्दा ३ वटा नेताहरू देखिनुभएको छ । उहाँहरू अझै त्योभन्दा माथि नै जानुपर्ने हो । विस्तारै चेन्ज आउँदैछ ।’

आफू वडा सभापतिको लागि उम्मेदवार बनिरहँदा घिमिरेलाई पनि धेरैले भनेका थिए- अहिले नै समय आएको छैन । तर, उनी ती सबै सुझावलाई ग्रहण गर्दै अघि बढे । 

अब कांग्रेसलाई नयाँ जागरण दिनका लागि पनि युवाहरू अघि बढ्नुपर्ने भावनालाई उनलाई अघि बढायो । उनले भने, ‘मलाई पनि इकाइमा उमेर नै पुगेको छैन भनिएको थियो । तर, मैले हस्तक्षेप गरेरै अब म आफै अगाडि आउँछु भनेको हुँ ।’

उनले अन्तिममा भने, ‘अहिलेसम्म युवाहरूले चान्स पाएका छैनन । अब चान्स पाएपछि समयले नै बताउनेछ कांग्रेस र युवाहरूको भूमिका के हुन्छ भनेर !’

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १४:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया