अमेरिकाको ९/११ हमलापछि संसारले के सिक्यो ?

अमेरिकामा आतंककारी हमला भएको ठ्याक्कै २० वर्ष भएको छ । यो अवधिमा आतंककारी नियन्त्रण वा त्यस्ता हमलाबाट कसरी जोगिने भन्नेबारे संसारले के सिक्यो ? कस्ता उपाय काम लागे, कस्ता कामै नलाग्ने साबित भए ?

चिन्ताको विषय के छ भने, अल–कायदालाई शरण दिने तालिबान भर्खरै अफगानिस्तानमा सत्तामा पुगेको छ । यो अवस्थामा के हामी ९/११ को समयभन्दा बढी सचेत भइसकेका छौं त भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

अमेरिकामा दुई दशकअघि भएको घटना आजसम्मकै भीषण हो, त्यसविरुद्ध उभिएको अमेरिकाले असल र खराबबीच भिन्नता छुट्याउन सक्यो कि सकेन ? कि खराब झनै बलिया भए र असल कमजोर हुँदै गए ? आज विश्व यस विषयमा निकै गम्भीर हुनु पर्ने अवस्था छ ।

९÷११ हमलाको नवौं दिन तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले भनेका थिए, ‘हरेक देश, हरेक क्षेत्रले अब एउटा निर्णय लिनुपर्छ । या त तपाईं हाम्रो साथमा हुनुपर्छ या आतंकवादीसँग ।’ यसरी अमेरिकाले तथाकथित ‘आतंकवादविरुद्धको युद्ध’ को घोषणा गरेको थियो ।  

अमेरिकाले अफगानिस्तान र पछि इराकमा हमला गर्यो । इस्लामिक स्टेटको उदय भयो, मध्यपूर्वमा इरानको समर्थक मिलिसिया फैलिए र हजारौं सैनिक, महिला र आमनागरिकको हत्या भयो । तर पनि आतंककारी नियन्त्रणमा आएनन् । पछिल्ला वर्षमा त ठूला युरोपियन मुलुकमा समेत हमला हुन थाल्यो । यसका अर्थ सबैतिर असफलता मिलेको होइन, केही सफलता पनि मिलेको छ ।

त्यो समयदेखि अहिलेसम्म हेर्दा ९/११ को जस्तो ठूलो आतंकवादी हमला हुन पाएको छैन । अफगानिस्तानबाट अल–कायदा नियन्त्रण भयो, त्यो समूहको मुखिया पाकिस्तानमा मारिए । सिरिया र इरानमा आतंक फैलाउने आइएसआइएस नष्ट भयो ।



आतंकवाद नियन्त्रण गर्न कसरी अघि बढ्नु लाभदायी हुन्छ ?

मुख्य कुरा त जासुस निकायले प्राप्त गरेका सबै जानकारी साझा गर्नु आवश्यक छ । अमेरिकामा ९÷११ हमला हुनुअघि त्यहाँको दुई मुख्य जासुस निकाय एफबिआई र सिआइएलाई कुनै जालसाजी हुन लागेको थाहा थियो । तर, यस्ता गोप्य जानकारी प्राप्त गर्न सक्ने निकायबीच नै प्रतिस्पर्धा थियो र त्यो जसले पायो उसैले राख्ने गरिन्थ्यो ।



९/११ हमलापछि तयार पारिएको रिपोर्टमा यो कमजोरीबारे विस्तृत छानबिन गरियो र त्यसमा सुधार ल्याइयो । अहिले १७ वटा अमेरिकी जासुस निकाय आफूले दैनिक पाएका रिपोर्ट साझा गर्न थालेका छन् ।

बेलायतमा पनि यस्तै फ्युजन सेन्टर बनाइएको छ ‘दि ज्वाइन्टे टेररिज्म एनालिसिस सेन्टर’ नामको । उक्त सेन्टरका दर्जनौं विशेषज्ञहरु एकै ठाउँमा बसेर आतंककारी क्रियाकलापबारे जानकारी आदानप्रदान र मूल्यांकन गर्ने गर्छन् । 

यति हुँदाहुँदै पनि लन्डनमा जुलाई ७, २००५ मा बम हमला भयो र ५० जनाभन्दा बढीको ज्यान गयो । हमलाकारीले बेलायती नागरिकलाई नै उपयोग गरेको पाइयो । २०१७ मा म्यानचेस्टरमा पनि हमला भयो । 

जासुस निकायहरुले प्राप्त गरेका जानकारी बाँड्दैमा आतंकवाद नियन्त्रण हुने होइन, तर यसलाई नियन्त्रण भने गर्न सकिने विश्लेषकहरु बताउँछन् । अर्को कुरा, आतंकवाद नियन्त्रणबारे ‘मिसन’ मा सबै देश एकजुट र एकमत हुनु जरुरी छ । मिसनबाट कुनै पनि देश भड्कियो भने त्यसको असर अधिक पर्न जान्छ । कतिपय अवस्थामा एकातिर काम गरिरहेका सैनिक वा सुरक्षा बललाई सरुवा गरेर अर्कोतिर पठाउँदा पनि समस्या पर्न सक्छ । 

अमेरिका र बेलायतका थुप्रै सैनिक तालिबान विद्रोहीलाई तह लगाउने काममा सफल हुुँदाहुँदै अफगानिस्तानबाट इराक पाठाइएको थियो । फलस्वरुप तालिबान र अन्य समूह संगठिन हुन पुगे र आतंक मच्चाउन थाले । 

आतंकवादविरुद्ध एकजुट हुने सवालमा सहयोगी चयनमा पनि गम्भीर हुनु जरुरी छ । कतिपय सहयोगीका कारण आतंक झनै फैलिन सक्छ । २००३ मा इराकमाथि हमलाको समयमा अमेरिका र बेलायत निकै नजिकका सहयोगी थिए । अमेरिकाका जुनियर पार्टनर थियो बेलायत ।

इराकी सेना भंग नगर्ने या बाथ पार्टीका सबै सदस्यलाई सरकारी भूमिकाबाट वञ्चित गर्ने कदम चालियो । यसबाट थुप्रै नयाँ बेरोजगार पैदा भए र तिनले असन्तुष्ट इराकी सैनिक र जासुस निकायका अधिकारी मिलेर विनाशकारी गठबन्धन बनाए । पछि गएर त्यही समूह आइएसआइएस बन्यो ।

त्यतिमात्र होइन, आतंकवादी विरोधीहरु एकजुट हुँदा तिनले मानवअधिकारको रक्षाबारे पनि सोच्नुपर्छ । र, अर्को मुख्य कुरा भनेको जहाँ आतंकवाद नियन्त्रणका लागि प्रवेश गरिन्छ, त्यहाँबाट कसरी बहिर्गमन हुने भन्नेबारे पहिला नै योजना बनाउनु अत्यावश्यक छ । अहिले अमेरिकालाई परेको अप्ठेरोको कारण नै अफगानिस्तानबाट मिसन समाप्तीपश्चात् कहिले र कसरी फिर्ता हुने भन्नेबारे योजना नहुनुको नतिजा नै अहिलेको अवस्था हो ।

शंका के छैन भने यदि अमेरिका र उसको गठबन्धनले २००१ मा अफगानिस्तानबाट तालिबानालाई भगाउन नसकेको भए संसारमा थुप्रै ठूला आतंकवादी हमला हुने थिए । तर, अफगानिस्तानमा योजनाबद्ध विकासको काम हुन नसक्नु र भ्रष्टाचार मौलाउनाले पुनः तालिबान हावी हुन पुगेको हो । अमेरिकाले मिसन पूरा भएपछि के गर्ने भन्नेबारे योजना बनाउन नसक्दा परिणाम खराब उत्पन्न भएको हो । 

(बिबिसीको सहयोगमा) 

  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १२:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया