भोलि हुने इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) परीक्षा तयारी पूरा भएको वैदेशिक रोजगार विभागले जनाएको छ । भोलि दिउँसो एक बजेदेखि अंग्रेजी भाषाको परीक्षा हुँदैछ ।
त्यसका लागि काठमाडौं उपत्यकाका १२ वटा स्थानका १६ वटा केन्द्रमा परीक्षा हुँदैछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको विभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिए ।
केही सञ्चारमाध्यमले सर्वोच्चले परीक्षा तत्काल रोक्न आदेश दिएको र परीक्षा रोकिएको भन्दै समाचार सम्प्रेषण गरेका थिए । सर्वोच्चले स्वास्थ्य मापदण्ड पालना गराएर परीक्षा गर्न आदेश दिएको ज्ञवालीले प्रष्ट पारे ।
‘परीक्षा रोकियो भने अफवाह फैलाइएको छ । यसले बाहिरबाट आउन लागेको धेरै विद्यार्थी रोकिएका छन् । परीक्षा रोकिएको छैन । सम्पूर्ण तयारी पूरा गरेर परीक्षा निर्धारित समयमै गर्दैछौं’, निर्देशक ज्ञवालीले भने ।
सहायक कामदारको अंग्रेजी भाषाको परीक्षाका लागि सात हजार २१ जना छनोटमा परेका छन् । ९ हजार जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार जना छनोटमा पर्न सकेनन् ।
इजरायलले नेपालबाट एक हजार जना केयरगिभरका लागि कामदार लाँदैछ । जसमा सात सय महिला र तीन सय जना पुरुष छन् ।
परीक्षाका लागि परीक्षार्थीहरूले अनलाइनबाटै प्रवेशपत्र लिन सकिनेछ । भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिन लागेको निर्देशक ज्ञवालीले बताए । भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ ।
सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेदवारको नामवाली तयार गर्ने निर्देशक ज्ञवालीको भनाइ छ ।
सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) लाई पठाएर त्यसको विवरण विभागको वेबसाइटमा प्रकाशन गर्नेछ । विभागले पठाएको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ ।
पिआईबिएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउनेछन् । विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ ।
इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा कामदार स्वयंले बेहोर्नुपर्ने उल्लेख गरिएको छ । भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।