एक महिना पढेर दुई सातामै अब्बल फिल्म बनाए १० किशोरीले

एक महिना सिकाइ अनि दुई सातामा फिल्म । क्यामेरा र फिल्म मेकिङको ‘फ’सँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउन गाह्रै पर्छ । तर, किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलको ‘गर्ल्स गेट इक्वेल’अभियान अन्तर्गत रहेर गरेकोे फिल्ममेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिना सिकेकै भरमा उम्दा फिल्म बनाएर देखाए । 

एक महिना सिकेका उनीहरूले बाँकी दुई सातामा तयार गरेका फिल्म नै देखाए । शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका फिल्म हेर्दा सिकारु हैन अनुभवी फिल्म मेकिङको झलक देख्न सकिन्थ्यो ।

१० किशोरीले एक महिने फिल्म मेकिङ कार्यशाला अन्तर्गत बनाएका ५ फिल्मको प्रदर्शन गरिएको थियो । ‘वुमनमेक फिल्मस्’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए । ५ फिल्मकोे लम्बाइ औसतमा ५ मिनेट थियो ।

नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ । महिला सम्बन्धि थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक किपालयको धारणा थियो।

किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलका अनुसार कार्यशालाका लागि देशभरबाट आवेदन मागिएको  थियो । आएका आवेदनबाट १० जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको उनले जानकारी गराइन् ।  सुरुमा कार्यशाला भौतिक रूपमै काठमाडौ र चित्लाङ गरी दुई ठाउँमा गर्ने योजना रहे पनि महामारीको दोस्रो लहर आएसँगै कार्यशाला भर्चुअल रूपमा सम्पन्न गरिएको थियो ।  

कार्यशालाका प्रोजेक्ट कोअर्डिनेटर नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्म मेकिङमा दीक्षित गर्ने प्रयास गरेको बताए । 



उनले भने, ‘एक महिना लामो तालिममा १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मक प्रश्न गर्ने शील्प सिके । यी पाँच चलचित्रको प्रदर्शनले यी महिला चलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्ंच प्रदान गर्नुका साथै आत्मविश्वासी बनाएको महसुस गरेका छौँ ।’

यसैगरी प्लान नेपालकी अभियान विशेषज्ञ सृजना बज्रचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट फिल्म बनाउन सफल भएकोमा खुशी लागेको बताइन् । ‘यति छोटो तालिमको भरमा यति राम्रा बन्लान् भन्ने सोचेको थिइँन तर उनीहरूले उत्कृष्ट फिल्म बनाएका छन्,’ उनको भनिन् ।



एक महिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको थियो । कार्यशालामा आश्रुति त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए । १० जनाले ५ समूहमा विभक्त भई बनाएका फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई फिल्ममा समावेश गरेका थिए । यसरी बनेका सबै फिल्म डकुमेन्ट्री हुन् ।

यौनकर्मीको कथामा फिल्म बनाएकी पुष्पा जोशीले कार्यशालाले आफूलाई फिल्म बनाउने कला मात्र नसिकाएर महिलाका मुद्दालाई लेन्सको आँखाले कसरी हेर्न सकिन्छ भन्ने पनि ज्ञान दिएको बताइन् । उनले भनिन्, ‘यो तालिमले मलाई चलचित्र निर्माण सम्बन्धी प्राविधिक ज्ञान त दियो नै । यसका साथै महिलालाई बुझ्ने र यसलाई प्रविधिका माध्यमबाट अभिव्यक्त गर्ने कौशल सिकाएको छ । भविष्यमा म अझै धेरै डकुमेन्ट्री चलचित्र बनाउने छु । फिल्ममा पितृसत्ताको वर्चस्वलाई थोरै भए पनि चुनौती दिने प्रयास गर्नेछु ।’

१ महिने कार्यशालामा उनीहरूलाई राजन कठेत, रजिला श्रेष्ठ, बबिन दुलाल लगायतले प्रशिक्षण दिएका थिए ।  किशोरीलाई प्रशिक्षण दिएका राजन कठेतले कार्यशालाले फिल्म बनाउने सिपसँगै किशोरीमा समाजसँग घुलमिल हुने गुणको पनि विकास गराएको धारणा राखे ।

 

  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १४:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया