बाटोमै शिशु जन्माउन बाध्य छन् दुर्गमका महिला

अछाम ढकारी गाउँपालिक–२ भलाने बस्ने पवित्रादेवी बेढालाई सुत्केरी व्यथा लाग्यो । व्यथाले च्यापे पनि नजिकै अस्पताल स्वास्थ्य चौकी थिएन । उनलाई अस्पताल पुर्याउनका लागि एक मात्र विकल्प स्टेचर थियो । स्टेचर खोज्दा–खोज्दै समय लाग्यो । बल्लबल्ल स्ट्रेचरमा राखेर पवित्रालाई स्वास्थ्य चौकी लैजाँदै गर्दा उनले बाटोमै शिशुलाई जन्म दिइन् । 

टोलसम्म सडक पनि नपुगेको र स्ट्रेचरमा बोकेर ल्याउँदा–ल्याउँदै बाटोमै बच्चा जन्मिएको उनका श्रीमान् मदनबहादुर बुढाले बताए । ‘स्वास्थ्य चौकी टाढा छ । गाउँनजिकै सडक पनि छैन । स्ट्रेचरमा स्वास्थ्य चौकी लैजाँदै गर्दा व्यथाले च्यापेपछि बाटोमै बच्चाको जन्म भयो ।’

बुढाको टोलबाट हिँडेर स्वास्थ्य संस्थामा जान ३ घण्टाभन्दा बढी समय लाग्छ । वर्षायामको समय त्यसैमा बाटो चिप्लो भएकाले समयमै स्वास्थ्य संस्थामा पुर्याउन नसकिएको मदनले बताए ।
बाटोमा असुरक्षित ढंगले सुत्केरी भएकी बुढालाई आफन्तले बोकेर स्वास्थ्य संस्थामा पुर्याए । स्वास्थ्यकर्मीले थप परामर्श दिएर घर पठाए । 

उक्त टोलमा सडक पुर्याउन अहिलेसम्म कुनै पनि निकायले ध्यान नदिएको त्यस क्षेत्रका स्थानीयले गुनासो गरेका छन् । आफ्नो टोलका जोसुकै व्यक्ति बिरामी हुँदा गाउँबाट जंगलको बाटो हुँदै ल्याउनुपर्ने बाध्यता भएकाले भलानेका स्थानीयलाई निकै समस्या भएको स्थानीय नरबहादुर साउदले गुनासो गरे ।
‘गाउँमा कोही बिरामी हुँदा यसरी नै बोकेर हिँड्नुपर्ने बाध्यता छ, यसको अन्त्य कहिले सम्म हुने हो हामीलाई निकै पीडा छ’ साउदले भने ।

गाउँलेहरु समय–समयमा बिरामी भइरहने र उनीहरूलाई यसरी नै रात–विरात नभनी बोकेर ल्याउनुपर्ने अवस्था रहेको र जंगलको बाटोमा राति हिड्ँदा जंगली जनावरको समेत डर हुने गरेको उनको भनाइ छ । सो गाउँका अधिकांश बिरामीलाई सकेसम्म गाउँमै झारफुक गरेर निको पार्न प्रयास गरिन्छ । व्यथाले चापेपछि यसरी नै स्ट्रेचर र डोकोमा बोकेर स्वास्थ्य संस्थामा लिनुपर्ने बाध्यता कायमै रहेको छ । स्वास्थ्य संस्था टाढा भएकाले सो गाउँका अधिकांश स्थानीय सानोतिनो बिराम लुकाएर बस्ने गरेका छन् ।

‘नजिक स्वास्थ्य संस्था छैन, टाढा छ जाऊँ भने ३–४ घण्टा लाग्छ, त्यही कारणले सानोतिनो रोग कतिपय अवस्थामा लुकाएर बस्ने गरेको स्थानीयले दुखेसो गरेका छन् । अधिकांशले समयमै उपचार नपाएर ज्यान गुमाएका छन् भने उपचार पाउनेले रोग बल्झिसकेका कारण बढी समस्या झेलिरहेका छन् । 



जिल्लाको रामारोशन गाउँपालिका–६ भटाकाटिया परिनवकी २५ वर्षीया नन्दा साउदले पनि यसरी नै बाटोमै बच्चालाई जन्म दिइन् । बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ५ कालिका बाच्कोटनजिकै बच्चा जन्माएकी उनलाई यसअघि स्वास्थ्य जाँचका क्रममा बच्चा उल्टो रहेको देखिएकाले प्रसूति गराउन बयालपाटा अस्पतालमा आउन भनिएको थियो ।

प्रसूति गराउनका लागि रामारोशन गाउँपालिकाको भटाकाटियाबाट हिँडेरै बयालपाटा अस्पतालमा आउने क्रममा शनिबार साढे ५ बजे उनले बाटोमै बच्चालाई जन्म दिएकी हुन् ।



उनीसँगै साथी आएकी आएकी जमुना साउँदले स्थानीयलाई खबर गरेपछि कालिका स्वास्थ्य चौकीका अहेव अविरल साउँदलगायतले उनलाई कालिका स्वास्थ्य चौकी पुर्याएका थिए । 

आमा र नवजात शिशुको अवस्था सामान्य रहेको कालिका स्वास्थ्य चौकीमा कार्यरत अनमी लीला साउँदले बताइन् । वर्षाका कारण जयगढ रामारोशन सडक खण्ड हिलाम्य हुनुका साथै ठाउँ ठाउँमा अवरुद्ध हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । 

  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १७:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया