भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुईदिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । 

भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले मालवस्तुको वर्गीकरण र मूल्यांकनमा इमान्दारी कायम गरी राजस्व संकलन वृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गरे । 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनलाई तीन ‘स’को अवधारणामा काम गर्न आग्रह गरे । सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात् गरी काम गर्नुपर्नेमा उनले जोड दिए । 

उनले सरुवाको लागि कुनै पनि दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न पनि निर्देशन दिए । सरुवाका लागि फोन गराई दबाब सिर्जना गर्ने कर्मचारीहरुको माग सुनुवाइ नहुने उनले स्पष्ट पारे ।  ‘त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन्, त्यो आफैँ बुझ्नुहुन्छ ।’

राजस्वसचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारीमाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीका गुनासालाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।  

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिए । उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाब समेटिएको भन्दै खुसी व्यक्त गरे । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नको लागि कच्चापदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा उनले जोड दिए । 
 
भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष्यअनुसारको राजस्व संकलन गरिने प्रतिबद्धता व्यक्त गरे। । सदाचारलाई शीरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न उनले मातहतका कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिए । 
 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १७:१८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया