संस्कृतानुरागी एवं वरिष्ठ साहित्यकार प्रा.डा. विष्णुराज आत्रेयको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर हालै उनको स्मृतिग्रन्थ ‘स्मृतिमा प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी’ एवं अन्तिम ऐतिहासिक उपन्यास ‘वररुचि कात्यायन’को काठमाडौंमा आयोजित एक समारोहमा विमोचन भयो ।
दुवै कृतिहरूको लोकार्पण प्रा.डा. आत्रेयकी धर्मपत्नी आर्या आत्रेय तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगााप्रसाद उप्रेतीले संयुक्त रूपमा गरेका हुन् । डा. अलका आत्रेय चूडालको सम्पादकत्वमा प्रा.डा. विष्णुराज आत्रेय स्मृति प्रतिष्ठान, कपिलवस्तुद्वारा प्रकाशित ६५२ पृष्ठको सो स्मृतिग्रन्थमा डा. आत्रेयको जीवनवृत्त, उनीबारेको संस्मरण, कृति विवेचना, कविता आदि विधामा विविध १५२ लेखकका रचना समावेश गरिएका छन् भने वररुचि कात्यायन संस्कृत वैय्याकरणको जीवनीमा आधारित ऐतिहासिक लघुउपन्यास हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कार्यक्रममा प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले बहुआयामिक व्यक्तित्व एवं प्राग्ऐतिहासिक र पौराणिक पात्रलाई नेपालसँग जोडेर यसलाई गौरव गाथाले भरिएको देशका रूपमा नेपाललाई चिनाउन अथक प्रयत्न गर्ने डा. आत्रेयबारेको आधिकारिक ग्रन्थले उनको परिचय वर्तमान एवं भावी पुस्तासमक्ष ल्याएको कुरा बताए ।
अद्भूत कपिलधाम एवं साहित्य तीर्थका परिकल्पनाकार डा. आत्रेयको विद्वत्क्षमता अतुलनीय रहेको बताए । ‘वररुचि कात्यायन’ उपन्यासको समीक्षा गर्दै प्राज्ञ डा. देवी नेपालले यो उपन्यास नेपालका पुण्य क्षेत्र र ऋषिमुनिबारे गहन अध्ययन गरी विविध ग्रन्थको स्रोत पनि उल्लेख गरी प्रामाणिकतापूर्वक लेखिएको यस उपन्यासले वररुचि कात्यायानको रोचक औपन्यासिक जीवनवृत्त प्रस्तुत गरेको बताए। उनले डा. आत्रेयको निधन नै नभएको र उनी कीर्तिशेष रहेको बताए ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले प्राज्ञिक लेखन र संस्कृत, नेपाली एवं अवधी वाङ्मयमा गुणात्मक र परिमाणात्मक दुवै दृष्टिले डा आत्रेयको विशेष योगदान रहेको स्मरण गरे। प्राज्ञ डा. हेमनाथ पौडेलले सदैव गहन र प्रामाणिक प्रस्तुति गरेर सबैलाई मोहित पार्ने डा. आत्रेय सरस्वतीका वरद पुत्र भएको उल्लेख गरे ।
स्मृति ग्रन्थका सम्पादक डा. अलका आत्रेयले २०४४ सालमा विश्व हिन्दू सम्मेलनमा प्रथमपटक पिताको हात समाएर प्रज्ञा प्रतिष्ठान आएको र आज बुवालाई स्मृतिग्रन्थभित्र हातमा बोकेर प्रज्ञा प्रतिष्ठानमा आएको बताउँदै पितृऋणको सानो अंश चुकाउने प्रयास गरेको बताइन् ।
कार्यक्रममा डा आत्रेयकी छोरी आज्ञा आत्रेय, लक्ष्मी गौतम तथा डा. सुबोध शुक्लले डा. आत्रेयका विविध रचना वाचन गरेका थिए । प्रा.डा. विष्णुराज आत्रेय स्मृति प्रतिष्ठानका सभापति विष्णुप्रसाद भण्डारीको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा स्मृति ग्रन्थका सहायक सम्पादकहरू खगेश्वर गौतम, वैरागी जेठा, कृष्णप्रसाद भण्डारी, प्रीति आत्रेय, पवित्रा दहाल आदि वक्ताले मन्तव्य राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।