कम्युनिस्ट पार्टीभित्रको अहंकारवादविरुद्ध लडनुपर्छ : माधव नेपाल

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिस्ट पार्टीभित्रको अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिस्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको बताए । 

नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले नेपालका कम्युनिस्ट पार्टीभित्र आसेपासेलाई गोलबन्द गर्दै गैरकम्युनिस्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवित्तिलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले भने, ‘आफ्ना आसेपासेलाई गोलबन्द गर्दै गैरकम्युनिस्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौँ । अनि सत्तामा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौँ ।’ 

कम्युनिस्ट पार्टीभित्रैबाट यस्ता खालका गैरसर्वहारा वर्गीय चिन्तन देखिने गरेको भन्दै उनले यस्ता सबै खालका गैरसर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीले काम गर्नुपर्ने बताए । 

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान सञ्चालन गर्नुपर्ने पनि बताए । उनले नेपालका कम्युनिस्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै ती कम्युनिस्ट पार्टीले मात्रै वास्तविक रुपमा देशलाई एकताबद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क पनि गरे । 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार २०:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया