सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी: चल्न थाल्याे हाेड, काे बन्ला संसदीय दलकाे नेता ?

नेकपा (एकीकृत समाजवादी) दल सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता छान्ने गृहकार्यमा लागेको छ । नेकपा (एमाले) बाट फुटेर बनेको माधव नेपाल नेतृत्वको नेकपा (एस)ले सांसदरुहसँग छलफल तीव्र पारेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एस) ले मान्यता पाएसँगै संसदीय दल गठन गर्ने तयारीसमेत गरेको छ ।

संसदीय दल गठन लगायतका विषयमा छलफल गर्नका लागि सोमबार बैठक बस्ने नेकपा एसको केन्द्रीय सदस्यसमेत रहेकी सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । बैठक आइतबार बस्ने तयारी गरिए पनि थारु समुदायको अटवारी पर्वका कारण बैठक नबोलाइएको उनले बताइन् । ‘एक पार्टीबाट फुटेर अर्को पार्टी बनिसकेपछि हामी बस्न पाएका पनि छैनौं,’ उनले भनिन्, ‘भोलि ज्येष्ठ सदस्यबाट आह्वान गराएर बैठक बस्दै छौं । भोलि नै दलको नेता चयन नहुन सक्छ, तर संसदीय दल गठनका विषयमा छलफल गर्छौं ।’ 

१४ सांसदसहित सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एसमा संसदीय दलको नेता को बन्ने भन्नेबारे निकै चासो हुन थालेको छ । एमालेका १४ जना सांसद एकीकृत समाजवादीमा लागेका छन् । प्रदेशसभामा एमाले चौथो दलमा खुम्चिएको छ । सांसदहरु दीर्घ सोडारी, पूर्णा जोशी, माया भट्ट, तारालामा तामाङ, प्रकाश रावल, लालबहादुर खड्का, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी, दुर्गा कामी, मनाकुमारी साउद, चुनुकुमारी चौधरी, सुशील बुढाथोकी र माया तामाङ बोहरा (ओली समूह) ले एमाले छाडेर समाजवादी रोजेका थिए ।

संसदीय दलको नेतामा दाबेदार चार सांसद देखिएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सांसद तारालामा तामाङ र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट दाबेदारका रुपमा देखिएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सोडारी र सांसद तामाङमध्ये एकजना संसदीय दलको नेता बन्ने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ । 

संसद् दलका नेता चयनका लागि बस्न नसकेकोले अहिले नै को बन्ला भन्न नसकिन्ने सांसद तारालामा तामाङले बताए । ‘बैठक बस्न सकेको छैन,’ सांसद तारालामा तामाङले भने, ‘१४ जना सांसदमध्ये जो पनि संसदीय दलको नेता बन्न सक्ने छ ।’ तामाङ कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट विजयी उनी तत्कालीन एमालेतर्फ सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतक पनि थिए । 

संसदीय दलको नेताका दाबेदार सोडारीको एकीकृत समाजवादीभित्र पकड छ । १४ सांसदमध्ये बहुमत उनको पक्षमा रहेको पार्टी स्रोतको भनाइ छ ।



गत जेठ १५ गते मन्त्रिमण्डल पुनर्गठन गर्दा सोडारी भौतिक पूर्वाधार विकासमन्त्री भएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट पनि संसदीय दलको नेता बन्ने लाइनमा छन् । उनीहरु दुवै एकीकृत समाजवादीमा खुल्ने पहिलो सांसद हुन् ।

अध्यक्ष माधव नेपालले नवगठित नेकपा (एकीकृत समाजवादी) मा उनीहरुलाई केन्द्रीय सदस्य चयन गरेका थिए । यस्तै, तत्कालीन एमालेकी प्रमुख सचेतकमा दुर्गा कामी नै एकीकृत समाजवादीमा दोहोरिने सक्ने पार्टी स्रोतको दाबी छ ।



  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार २१:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया