त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका भिड्दै

आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सोमबार (आज)बाट सुरु हुँदैछ ।

सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

नेपाल आज अमेरिकामाथि जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । तर, बलियो प्रतिद्वन्द्वी विरुद्ध जित निकाल्न त्यति सहज हुने छैन ।

नेपालले लिग अन्तर्गत खेल्न लागेको यो दोस्रो त्रिकोणात्मक सिरिज हो । यसअघि उसले सन् २०२० मा घरेलु मैदानमा ओमान र अमेरिकासँगै सिरिज खेलेको थियो ।

त्रिवि क्रिकेट मैदानमा भएको उक्त सिरिजमा नेपालले ओमान विरुद्धको दुवै खेल गुमाउँदा अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो ।

नेपाल आज अमेरिकाविरुद्ध आत्मविश्वासका साथ मैदान उत्रिनेछ । पछिल्लो समय निकै लयमा रहेको अमेरिका पनि बदला लिने सोचमा हुनेछ । 



यी दुईबीच पछिल्लो भेट सन् २०२०को फ्रेब्रुअरी १२ मा भएकोे थियो । आइसिसी विश्वकप लिग २ अन्तर्गत नै भएको यो खेलमा अमेरिका मात्र ३५ रनमा समेटिँदा नेपालले ८ विकेटको सहज जित हात पार्‍याे । 

सिरिजको तयारी स्वरूप नेपालले र अमेरिकाले पपुवा न्युगिनिसँग दुई खेलको एकदिवसीय सिरिज खेलेका थिए । जसमा दुवैले २-० को जित हात पार्दै क्लिन स्विप राखेका थिए । 



आइसिसी विश्वकप लिगमा ओमान १० खेलबाट १६ अंकका साथ शीर्ष ,१२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो र ४ खेलबाट ४ अंक जोडेको नेपाल छैटौँ स्थानमा छन् । 
 

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ७:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया