‘मुख्यमन्त्रीमा’ मा अड्कियो बागमतीमा सरकार परिवर्तनको एजेन्डा
गठबन्धनमा विवाद थप बढे विश्वासको मत पाउने एमालेको विश्वास

बागमती प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री टुंग्याउन नसक्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु लम्बिँदै गएको छ । नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने विषय टुंगो लागेको छैन । 

म मुख्यमन्त्री हुने सहमति भइसक्यो : पाण्डे

नेकपा (एकीकृत समाजवादी) का नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एसले नै गर्ने र मुख्यमन्त्री आफैं बन्ने दाबी गरे । उनले बागमती प्रदेशमा मात्रै नभई प्रदेश १ मा समेत गठबन्धनका तर्फबाट नेकपा एसले नै नेतृत्व गर्ने दाबी गरे ।

गठबन्धनका तर्फबाट ६ वटा प्रदेशमध्ये नेपाली कांग्रेसले दुई, नेकपा माओवादी केन्द्रबाट २ र नेकपा (एकीकृत समाजवादी)बाट दुई मुख्यमन्त्रीको भागबण्डा भएको भन्दै उनले गण्डकी र कर्णालीमा काँग्रेसले नेतृत्व गर्ने भन्दै कर्णालीमा माओवादीले कांग्रेसलाई छोड्ने निर्णय भइसकेको उनले बताए ।

यस्तै लुम्बिनी र सुदूरपश्चिममा नेकपा माओवादीको मुख्यमन्त्री भएकोले बागमती र प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) ले नै पाउने उनले दाबी गरे । नेता पाण्डेले बागमती प्रदेशमा गठबन्धनमा कुनै समस्या नभएको भन्दै मुख्यमन्त्रीकै दाैडमा रहेका नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले सहज रुपमा छोड्ने दाबी समेत गरे । 

दाबी छोडेको छैन : इन्द्र बानियाँ 



यता बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले मुख्यमन्त्रीको दाबी नछोडेको बताएका छन् । उनले भने, ‘गठबन्धनको निर्णय नै मेरो निर्णय हो । मैले दाबी छोडेको छैन । सरकारदेखि सबै ठाउँमा गठबन्धन नै अगाडि बढिरहेकोले अहिले भन्ने स्थिति छैन । केन्द्रको निर्णयले मात्रै मुख्यमन्त्रीको टुंगो लाग्छ ।’

बहुमत वा अविश्वासको लागि बाधक ‘मुख्यमन्त्री’



बागमती प्रदेश सरकार शीघ्र परिवर्तनको हतारमा रहेको गठबन्धनको मुख्य बाधक बनेकोे छ, मुख्यमन्त्रीको पद । सरकार परिवर्तन गर्न कि ३० दिनसम्म अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने समयमा कुर्नुपर्छ या अविश्वासको प्रस्ताव लगेर विशेष अधिवेशन बोलाउनु पर्‍यो । त्यसका लागि गठबन्धनका तर्फबाट मुख्यमन्त्री तोकेर अविश्वासको प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । 

यस्तै प्रदेश प्रमुखलाई गठबन्धनमा बहुमत रहेको भन्दै आफ्नो सरकारको दाबी पेस गर्ने अर्को विकल्प छ । तर उक्त विकल्पका लागि पनि मुख्यमन्त्री तोक्नुपर्ने भएकोले प्रदेश सरकार परिवर्तन गर्न मुख्यमन्त्रीको टुंगो नलाग्दा यो विकल्प पनि ढिलाई हुने देखिएको छ । 

यो विषयमा तत्काल टुंगो लगाउने पक्षमा नेकपा एसका नेता राजेन्द्र पाण्डे छन् भने नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ केन्द्रकै निर्णयको पर्खाइमा छन् । यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले गठबन्धनमा रहेका बागमती प्रदेशका तीन दलको बैठक राखेर टुंग्याउने भन्दै प्रदेश सरकार यो महिनाभित्र परिवर्तन हुने दाबी गर्छन् ।

उनले भने, ‘हामी कुन विधिबाट हुन्छ, त्यही विधिबाट सकेसम्म प्रदेश सरकार छिटो परिवर्तन गर्ने तयारीमा छौं । जसका लागि गठबन्धनको बैठकबाट हामी भोलिदेखि नै लाग्ने छौं ।’  

सरकारले सामना गर्छ : एमाले 

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले सरकारविरुद्ध अविश्वास प्रस्ताव वा बहुमत दाबी गर्न आएमा अष्टलक्ष्मी नेतृत्वको सरकारले सामना गर्न तयार रहेको बताएका छन् । 

उनले गठबन्धन बाहिर रहेका साना दलको सहयोगले मात्रै एमालेलाई बहुमत नपुग्ने भए पनि बहुमत पुर्‍याउन निरन्तर प्रयास भइरहेको बताए । निरौलाका अनुसार मुख्यमन्त्रीबाहेक अन्य पदहरु दिएर पनि फेरि मन्त्रिपरिषद् विस्तार हुन सक्ने भन्दै सरकारले विश्वासको मत लिन सक्ने बताए । 

गठबन्धनभित्र मनमुटाव सुरु भइसकेको भन्दै गठबन्धनमा विवाद आएमा प्रदेशमा एमाले नेतृत्वको सरकारले निरन्तरमा पाउने दाबी निरौलाको छ । 

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ११:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया