\
नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेता चयन गरेको हो।
बैठकले भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णय गरेको छ । सो निर्णयको जानकारी प्रदेशसभा सचिवालयलाई समाजवादीले दिएको छ ।
आज प्रदेशसभामा राई चयन भएको र सरकारलाई समर्थन नरहेको जानकारी सहितको पत्र पठाएको सांसद उपेन्द्र घिमिरेले बताए ।
प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सांसदले सनाखत गरेका थिए । उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो ।
एमालेबाट राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा नेकपा समाजवादीमा गएका हुन् ।
बहुमतप्राप्त दलको नेताको रूपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकाले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ ।
प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।