नेपाल भर्सेस अमेरिका : प्लेयर्स टु वाच

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सोमबार (आज) बाट सुरु हुँदैछ ।

सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

नेपाल आज अमेरिकामाथि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । तर, बलियो प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्न त्यति सहज हुनेछैन ।
पछिल्लो समय निकै लयमा देखिएको अमेरिका पनि नेपलाविरुद्ध बदला लिने दाउमा हुनेछ । 

नेपाल र अमेरिकाले हालसम्म दुई एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुवै खेलमा नेपाल विजयी भएको छ । यी दुईबीच पछिल्लो भेट सन् २०२० को फेब्रुअरी १२ मा भएकोे थियो । 

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नै त्रिवि क्रिकेट मैदानमा भएको यो खेलमा अमेरिका मात्र ३५ रनमा समेटिँदा नेपालले ८ विकेटको सहज जित हात पारेको थियो । त्यसयता यी दुई टोली पहिलोपटक एक अर्काको सामना गर्दैछन् ।

युवा खेलाडीले भरिएका दुबै टिमबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । 



प्लेयर टु वाच

सन्दीप लामिछाने (नेपाल)



युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन् । पछिल्ला खेलमा निकै लयमा देखिएका उनी अमेरिकाका लागि घातक बन्न सक्छन् । 
सन्दीपले पछिल्ला तीन एकदिवसीय अन्तर्राष्ट्रियमा ४ वा ४ भन्दा बढी विकेट हात पारेका छन् ।

उनले पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीयमा ४ र दोस्रोमा ६ विकेट र गत वर्ष अमेरिकालाई मात्र ३५ रनमा समेट्ने क्रममा ६ विकेट हात पारेका थिए । 
सन्दीपले आज पनि आफ्नो लयलाई कायम राख्ने सके अमेरिकी ब्याट्सम्यानका लागि टाउको दुखाई बन्न सक्छन् । 

सन्दीपले पछिल्ला ३ एकदिवसीय अन्तर्राष्ट्रिमा २१.१ ओभर बलिङ गर्दा १ मेडनसहित ६२ रन खर्चिएर १६ विकेट हात पारेका छन् ।

जसकरण मल्होत्रा (अमेरिका)

मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान जसकरण मल्होत्रामाथि सबैको नजर हुनेछ । भारतीय मूलका मल्होत्राले पुपवा न्युगिनिसँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १ सय २४ बलमा ४ चौका र १६ छक्काको मद्दतमा १ सय ७३ रनको अविजित पारी खेलेका थिए ।

उक्त प्रदर्शन गर्ने क्रममा मल्होत्राले अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । पाँचौं नम्बरमा ब्याटिङ गर्दै उनले बनाएको उक्त रन एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक हो ।

पपुवा न्युगिनीविरुद्धको लयलाई निरन्तरता दिन सके उनी नेपालका लागि घातक बन्न सक्छन् । भारतको चन्डिगढमा जन्मिएका मल्होत्रा सन् २०१८ देखि अमेरिकाबाट खेल्दै आएका छन् ।  

उनी गत वर्ष नेपाल भ्रमणमा आएको अमेरिकी टोलीमा अटाएका थिएनन् । नेपालविरुद्ध पहिलोपटक खेल्न लागेका मल्होत्रा नेपाली बलरका लागि प्रमुख समस्या बन्न सक्छन् ।   

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १३:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया