बजेट प्रतिस्थापन विधेयकबारे के भन्छन् व्यवसायीहरू ?

सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

बजेट प्रतिस्थापन विधेयक साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको भन्दै उनीहरूले सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । 

अटोमोबाइल्स डिलर्स एसोसिएन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुने बताउनुभयो । अध्यक्ष दुलालले २०७८/०७९ को प्रतिस्थापन बजेट स्वागत योग्य रहेको बताउँदै उहाँले अब नेपालमा अटोमोबाइल उद्योगहरूको उदय हुने बताएका हुन् । 

उनले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेटमार्फत् एसेम्बल गरी नेपालमा सवारी साधन उत्पाादन गर्ने अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३, ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क  महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था कोशेढुङ्गा साबित हुने बताए । 

अध्यक्ष दुलालले कोरोनाको यस्तो बेलामा वर्तमान सरकारले मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले प्रयोगकर्तालाई थप आर्थिक भार परेको भन्दै सरकारले गत वर्ष कायम गरेकै सेगमेण्टलाई कायम गर्न आग्रह गरे ।

अध्यक्ष दुलालले भने, ‘देशको वर्तमान जटिल अवस्थामा पनि २०७८/०७९ को प्रतिस्थापन बजेट आउँदा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि ठूलै आशा र विश्वास अनि सरकारसँग भरोसा राखेकै हो । नाडाले झन्डै एक दशक अघिदेखि नै आफ्ना बजेट सम्बन्धी सुझावहरूमार्फत् निरन्तर रूपमा सरकारलाई नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दै आएकोमा माननीय अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिस्थापन बजेट मार्फत् एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०१, ८७.०३ र ८७.११ मा पर्ने गरी सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले यसको स्वागत गर्दै यो निर्णयले नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुनेछ । यो जुन सरकार आए पनि परिवर्तन हुँदैन भन्ने नाडा विश्वास राख्छ । त्यस्तै कोरोनाको यस्तो महामारीमा मोटरसाइकल धेरै प्रयोगमा आउँछ तर  वर्तमान बजेटले मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार परेको छ, सरकारले गत वर्ष कायम गरेको सेगमेण्टलाई कायम गराओस् भन्ने अनुरोध छ ।’



नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएकोले प्रतिस्थापन विधेयक स्वागतयोग्य रहेको बताए ।  उनले प्रतिस्थापन विधेयकले आन्तरिक उत्पादनलाई पनि प्राथमिकता दिएको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘सरकारले ल्याएको प्रतिस्थापन विधेयकले केही राम्रो कुराहरू पनि राखेका छ । जस्तै साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याइएको छ, सँगै आन्तरिक उत्पादनलाई पनि प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने कुराहरूलाई प्राथमिकतामा राखेको छ, तर विगतका वर्षहरूमा हामीले बजेट ल्याए पनि कार्यान्वयन नभएको पाएका छौँ, त्यसैले समयमै कार्यान्यन हुनसक्यो भने राम्रो हुन्छ ।’



होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले प्रतिस्थापन विधेयकले ठूला लगानीहरूमा प्रोत्साहन गर्ने किसिमको बजेट आएको बताए । प्रथम उपाध्यक्ष शाहले सरकारले यसलाई समयमै लागू गर्ने आश कमै मात्र रहेको बताए ।

प्रथम उपाध्यक्ष शाहले भने, ‘प्रतिस्थापन विधेयक ठूला लगानीहरूमा प्रोत्साहन गर्ने किसिमको छ । यसले लगानीकर्ताहरूलाई कोरोना भाइरसका कारण मर्न लागेको व्यवसाय उठ्छ कि भन्ने आशा जगाएको छ । तर, यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विडम्बना छ । आर्थिक वर्षको दुई महिना त बितिसक्यो तर दसैं तिहार भनेर कार्यान्वयनमा ढिला नहोस् ।’

प्रथम उपाध्यक्ष शाहले बजेटमा राम्रो कार्यक्रमहरू आए पनि कार्यान्वयनमा समस्या भइरहेको भन्दै सरकारले कार्यान्वयनमा ढिलाइ गर्नु नहुनेमा जोड दिए ।

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १४:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया