देउवाले सत्ता र शक्तिकाे दुरुपयाेग गरेर पार्टी कब्जा गर्न खाेजेकाे पाैडेलकाे आराेप
फाइल फाेटाे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरू आफूहरूलाई मान्य नहुने चेतावनी समेत दिए । 

नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता, कार्यकर्ताहरूलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । 

उनले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रूपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रिकरणको बाटोमा हिँडाउन सकिने वरिष्ठ नेता पौडेलको बुझाइ छ । 

उनले भने, ‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौँ । हामी त्यसको विरुद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन । नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम जो भएको छ । हामी त्यसको विरोध गर्न चाहन्छौँ । यस किसिमले देशैभरि पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस जो गर्न खोजिएको छ । त्यो दुस्साहस हो । हामी हुन दिँदैनौँ । नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा बिचलित हुन दिँदैनौँ ।’

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानविन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप समेत लगाए  । उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्ने गरी अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । 



  



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १५:२५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया