कैलालीको गौरीगंगा नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै सोमबार विरोध प्रदर्शन गरिएको छ । नगरपालिका कार्यालयभित्रका सबैखाले भ्रष्टाचार र अनियमितताविरुद्ध पाँचदलीय गठबन्धन गौरीगंगाले विरोध प्रदर्शन गरेको हो ।
‘भ्रष्ट्राचाररहित नगरपालिका हाम्रो चाहना, सुशासन समृद्ध नगरपालिका सबैको कामना’ भन्ने नाराका साथ उनीहरुले प्रदर्शन गरेका हुन् ।
साथै उनीहरुले नगर शिक्षक छनौट कार्यविधि संशोसन गर्नुपर्ने, करार कर्मचारीको हकमा समिति बनाई आवश्यकभन्दा बढी कर्मचारीलाई हटाउनुपर्ने, नगरभित्र रहेका बेरुजु यथाशीघ्र फर्छ्योट गर्नुपर्नेलगायतका माग मागपत्रमा उल्लेख छ ।
यस्तै, नगरपालिकामा तालाबन्दीसमेत गरिएको छ । पाँचदलीय गठबन्धन नगरपालिकालाई बुझाएको ६ बुँदे मागको बेवास्ता गरेको भन्दै उनीहरुले सोमबार तालाबन्दी गरेका हुन् ।
उनीहरुले नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा विषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्छ्योट गर्नुपर्नेलगायत ६ बुँदे माग राखेका छन् ।
माओवादी केन्द्रका नगर अध्यक्ष बलबहादुर महतोले जनतासँग नजिकमा रहेको सरकारले जनताको करलाई व्यवस्थित रुपमा लागू गर्नुपर्नेलगायत जनसरोकारका विषयमा जवाफदेही नभएको, सुशासन कायम भएको नदेखिएकाले पाँच दलीय गठबन्धनले विरोधका कार्यक्रम गरिएको बताए ।
नगरका सार्वजनिक योजनामा सही अनुगमन तथा पारदर्शिता शून्य भएको र हरेक योजनामा अनियमितता भइरहेकोले पटक–पटक ध्यानाकर्षण गराउँदा नगरप्रमुखले बेवास्ता गरिरहेकाले मागको सुनुवाइ तथा दलीय सहमति नहुँदासम्म आन्दोलन गरिरहने नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशीले बताए ।
नगरपालिकाले गत आर्थिक वर्षमा ठेक्का सम्झौता नगरी नदीजन्य पदार्थ संलनको जिम्मा कार्यकर्तालाई दिएपछि व्यापक आर्थिक अनियमितता नगरप्रमुखको संरक्षणमा भएको भन्दै राजनीतिक दलहरूले हिसाब माग गरेका छन् । दलहरूले गत शुक्रबारसमेत नगरपालिकामा तालाबन्दीसहित एक घण्टा धर्ना दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।