कुशल र रोहित चम्किदा अमेरिकामाथि नेपालको शानदार जित

आइसिसी विश्व लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपाल विजयी भएको छ । उसले अमेरिकामाथि ५ विकेटको जित हात पारेको हो ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेल र रोहिकुमार पौडेलले अर्धशतकीय पारी खेले ।

९३ बलको सामना गरेका ओपनर कुशलले समान ३–३ चौका र छक्काको मद्दतमा ८४ रनको उत्कृष्ट पारी खेले । 

कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि कीर्तिमानी ६६ रनको साझेदारी गरेका थिए । 

यो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनरले गरेको सबैभन्दा ठूलो साझेदारी हो यसअघि सन् २०१९ मा युएइविरूद्व ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले गरेको  ६१ रनको साझेदारी नै पहिलो विकेटका लागि सर्वाधिक थियो ।

आशिफ ४२ बलमा २ चौकासहित २३ रन बनाएर पेभिलियन फर्किए ।



युवा ब्याट्सम्यान रोहितकुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्कासहित ६२ रनमा अविजित रहे । योसँगै उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा ३ अर्धशतत प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

पाँचौ विकेटका लागि रोहित र विनोद भण्डारीले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् । यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचौ. विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो ।



विकेटकिपर ब्याट्सम्यान विनोद ४८ बलमा २ चौका र १ छक्कासहित ३७ रन बनाएर आउट भए । अमेरिकाका निसर्ग पटेल र नास्टुश कोजोन्गीले समान २–२ विकेट हात पार्दा कप्तान शौरभ नेत्रवालकर १ विकेट लिए ।

यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा  टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रनको योगफल तयार पारेको थियो । 

अमेरिकाका लागि मोनान्क पटेलले शतकीय पारी खेले । ४७ औं ओभरको दोस्रो बलमा विक्रम सोबले कुशल भुर्तेलबाट क्याच गराउनुअघि उनले ११४ बलमा ९ चौका र १ छक्काको मद्दतले १०० रन बनाए । 

सुशान्त मोदानी र करिम गोरले समान १६–१६ रनको योगदान दिँदा स्टिभन टेलरले १४ रन जोडे ।  

नेपालका लागि सन्दीप लामिछाने, विक्रम सोब र सुसन भारीले समान २–२ विकेट हात पार्दा कुशल मल्लको नाममा १ विकेट रह्यो । २ विकेट रन आउटका रुपमा प्राप्त भएको थियो ।  


 

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार ७:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया