नेपाल भर्सेस ओमान : प्लेयर्स टु वाच

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार (आज) आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

सिरिज अन्तर्गत सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । नेपाल ओमानविरुद्ध लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।

नेपाललाई बलियो टिम ओमानविरुद्ध जित निकाल्न सहज छैन । उसले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

ओमान लिग–२ को शीर्ष स्थानमा छ । उसले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।

नेपाल र ओमानबीच २ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले दुवै खेल गुमाएको छ । नेपालले गत वर्ष विश्व लिग–२ को सिरिजअन्तर्गत नै घरेलु मैदानमा ओमानसँग खेलका दुवै गुमाएको थियो । 



त्रिवि क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५मा भएको पहिलो खेलमा नेपाललाई  १८ रनले हराएको ओमानले फेब्रअरी ९ भएको दोस्रो भेटमा ८ विकेटको सहज जित हात पारेको थियो । 

२०१८ को एसिया कप छनोटमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । त्यही वर्ष डिभिजन–२ अन्तर्गत भएको खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।



नेपालविरुद्ध हाबी बन्दै आएको ओमान घरेलु मैदनमा पनि त्यसलाई निरन्तरता दिन चहान्छ । नेपाल पनि पहिलोपटक एक दिवसीयमा ओमानविरुद्ध जित निकाल्न चाहन्छ । 

प्लेयर्स टु वाच

रोहितकुमार पौडेल (नेपाल)

मध्यक्रमका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल पछिल्ला ३ एकदिवसीय अन्तर्राष्ट्रियमा निकै लयमा देखिएका छन् । 

पुपुवा न्युगिनीसँग २ खेलको एकदिवसीय सिरिज र जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध नेपालले जित दर्ता गर्दा रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

उनले पछिल्ला ३ खेलमा २ अर्धशतकसहित १८९ रन प्रहार गरेका छन् । रोहितले पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीयमा ४१ र दोस्रोमा ८६ रन जोडेका थिए । उनले अमेरिकाविरुद्ध अविजित ६२ रन बनाए । 

उनले आफ्नो लयलाई आज पनि कायम राख्न सके ओमानी बलरका लागि प्रमुख समस्या बन्न सक्छन् । 

अकिब इलायस (ओमान)

पाकिस्तानी मूलका इलायस ओमानका प्रमुख हतियार हुन् । तेस्रो नम्बरमा ब्याटिङ गर्ने उनले गत वर्ष त्रिवि क्रिकेट मैदानमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

 इलायसले विश्वकप लिग–२ को सिरिज अन्तर्गत नै भएका ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३०२ रन बनाएका थिए ।

नेपालविरुद्ध १०९ रनको अविजित पारी खेल्दै ओमानका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका इलायसले अमेरिकाविरुद्ध पनि १०५ बनाएका थिए । 

अघिल्लो सिरिजको जस्तो लयलाई कायम राख्न सके उनी नेपालमाथि घातक बन्न सक्छन् । इलायस नेपाली बलरका लागि टाउको दुखाइको विषय हुन् । 


 

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १३:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया