बढी भाडा लिने सवारी साधन कारबाहीमा

काठमाडौँ– बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । 

उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको उनले बताए। बढी भाडा लिने सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको विभागले जनाएको छ । 

बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं. ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं. १०१ एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने प्रवक्ता उपाध्यायले बताउनुभयो । दशैँका जुनसुकै दिन सवारी चलाउनेले पनि विभागले तोकेभन्दा बढी भाडा लिन नपाउने उनले बताए । लिएमा माथि उल्लेखित नं वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न विभागले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याउन देशभरका प्रहरी कार्यालयलाई अनुरोध गरिएको जनाइएको छ । 

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम बढेको यात्रुको गुनासो छ । दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज २४ गते घटस्थापनादेखि शनिबारसम्म ६० हजार १६८ सवारीमा पाँच लाख ७१ हजार ९८७ यात्रु दशैँ मान्न उपत्यका बाहिर गएको महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक दामोदर सिलवालले बताए । 

यस अवधिमा ५० हजार ७२९ सवारीमा तीन लाख १९ हजार ६०९ यात्रु उपत्यका भित्रिएका छन् । 





  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार ७:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया