परिवर्तनको मोडमा नेपाली फुटबलः नयाँ खेलाडीलाई चुनौती, पुरानालाई टक्कर

नेपाली फुटबलका महिला र पुरुष दुवै टोलीले लामो समयपछि घरेलु मैदानमा २÷२ वटा मैत्रीपूर्ण खेल खेल्ने अवसर पाए । पुरुष टोलीले भारतसँग प्रतिस्पर्धा ग¥यो भने महिला टोलीले बंगलादेशसँग खेलेको हो । दुवै प्रतिस्पर्धामा थुप्रै नयाँ खेलाडीले मौका पाए । 

नेपालले खेलेको अन्तर्राष्ट्रिय खेलहरूमा नम्बर एक पुरुष गोलकिपर थिए किरण चेम्जोङ । तर, यसपालिको मैत्रीपूर्ण खेलमा एक दशकदेखि राष्ट्रिय टोलीमा परेर पनि बेन्चमा नै सीमित रहेका विशाल श्रेष्ठले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाए । त्यस्तै, महिलाको पनि नम्बर एकमा रहेकी एञ्जिला तुम्बापो सुब्बाको स्थानमा अञ्जना राना मगरले दोस्रो खेलमा पूरै ९० मिनेट मैदानमा उत्रने अवसर पाइन् ।  

अहिले नेपालको पुरुष र महिला दुवै टोलीमा धेरै नयाँ खेलाडीले मौका पाएका छन् । कतिले आफूलाई प्रमाणित पनि गरे । पुरुष टोलीमा कान्छा खेलाडी आयुष घलान, मनीष डाँगीजस्ता खेलाडीले मिडफिल्ड र फरवार्डमा देखाएको क्षमताले नयाँ पुस्ताले पुराना खेलाडीलाई टक्कर दिने अपेक्षा गर्न सकिन्छ । 

महिला टोलीमा पनि १६ वर्षे प्रिती राईको प्रस्तुति तथा सविता राना, रश्मिकुमारी घिसिङलगायतका नयाँ पुस्ताले केही हलचल पक्कै ल्याएको थियो । नयाँ खेलाडीलाई मौका दिने र नयाँ ढंगमा तिनको परीक्षण गर्ने आशयले पनि पुरुष टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र महिलातर्फका प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडी परिवर्तन गरेका थिए । 

नयाँ प्रशिक्षक, नयाँ रणनीति 

नेपाली फुटबलमा यसपटक महिला र पुरुष दुवैका खेलमा नयाँ प्रशिक्षकले प्रशिक्षण दिएका थिए । नेपाली महिला फुटबलले पहिलो पटक विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिएको हो । नयाँ प्रशिक्षकले नयाँ खेलाडीको छनोट तथा उनीहरुलाई राष्ट्रिय टोलीमा प्रवेशको बाटोसमेत खोलिदिएका छन् ।



पुरुष टोलीका प्रशिक्षक अलमुताइरीले पनि नयाँ खेलाडीको पहिचानसँगै तिनलाई राष्ट्रिय टोलीमा समावेश गराए । पहिलो पटक नयाँ खेलाडी लिएर उनी इराक उडे । उनले इराकसँगको एउटा मैत्रीपूर्ण खेल खेलाई विश्वकप छनोटको खेल खेल्न कुवेतका लागि निस्किए । उक्त भ्रमणका क्रममा उनले नयाँ खेलाडीलाई मौका दिए । नयाँ खेलाडी मनीषले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै डेब्यु गोल गरे । 

त्यस्तै, महिला टोलीमा पनि फिलिप्सले नयाँ खेलाडी छनोट गरी पहिलो पटक मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गराए । डेब्यु खेलमा नै प्रिती राईले गोल गरिन् । नयाँ खेलाडीको आगमनले केही पुराना खेलाडीलाई चुनौती भने थपिदियो । नयाँ खेलाडीमा देखिएको जोस र उनीहरुले मैदानमा देखाउने गतिका कारण पुरानालाई फिटनेस र खेलमा थप जिम्मेवार हुन बाध्य पारेको छ ।   



नयाँ प्रशिक्षकको आगमनसँगै नेपालका महिला–पुरुष दुवै टोलीले आक्रामक फुटबल खेल्न थालेका छन् । दुवै विदेशी प्रशिक्षकले नेपालको पुरानो रक्षात्मक शैलीमा पूर्णविराम लगाउँदै आक्रामक फुटबलको अभ्यासमा अघि बढाएका छन् । टोलीमा भित्रिएका यी दुवै प्रशिक्षकले नेपाली फुटबललाई नयाँ बाटोमा डो¥याएका छन् । 

पुरुष टोलीमा आएको परिवर्तन 

नेपाली पुरुष टोलीमा यो वर्ष धेरै परिवर्तन देखिएको छ । नेपालमा आएको यो परिवर्तनमा पहिलो र मुख्य भनेको नयाँ प्रशिक्षकको आगमन नै हो । प्रशिक्षक अलमुताइरीको आगमनले खेलाडीमा आएको परिवर्तित शैली ‘आक्रामकता’ मान्न सकिन्छ । अहिलेका प्रशिक्षक अलमुताइरीले खेलाडी छनोटदेखि आक्रामक शैलीको फुटबलको अभ्यास नेपाली फुटबलमा गराए । खेलाडीलाई उनले गर्ने व्यवहारले निकै प्रभाव पारेको छ ।

नेपाली फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मैत्रीपूर्ण खेलअघि पत्रकार सम्मेलनमा ‘उहाँले हामीलाई बाबाले जसरी सिकाउनु हुन्छ’ भन्ने भनाइ राखेका थिए । उनले नेपाली फुटबल खेलाडीमा राम्रो  छाप पारेका छन् । उनीसँगको पहिलो भ्रमण इराक जाँदा पनि खेलाडीले उनको तारिफ गरेका थिए ।  

नेपाली पुरुष टोलीमा आएको अर्को परिवर्तन भनेको युवा खेलाडीको लहर हो । प्रशिक्षक अलमुताइरीले नेपाली फुटबलमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’मा आफैं उपस्थित भई खेलाडीको क्षमता र प्रस्तुतिका आधारमा तिनलाई राष्ट्रिय टोलीमा डेब्यु गराएका थिए ।

अहिले नेपाली फुटबल टोलीमा राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेलेर रेकर्ड राखेका पुरानो पुस्ताका किरण चेम्जोङदेखि युवा पुस्ता आयुष घलान, मनीष डाँगीजस्ता खेलाडीको सम्मिश्रण रहेको छ । 

महिला टोलीमा आएको परिवर्तन 

नेपाली महिला टोलीले पहिलो पटक विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिइरहेको छ । फिलिप्स २०७७ फागुन १३ गते बाट नेपाली महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा नियुक्त भएका थिए । उनको आगमनअघि नेपाली महिला टोली हरि खड्काको जिम्मेवारीमा थियो ।

फिलिप्सले एक वर्षको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गरेका हुन् । उनले भर्खरै सम्पन्न बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण खेलमा पहिलो पटक आफ्नो प्रशिक्षणको नतिजा देखाए । उनले रक्षात्मक शैलीमा रहेको नेपाली फुटबललाई आक्रामक शैलीमा उतारेका छन् । उनले सावित्रा भण्डारी (साम्बा) जस्ता महत्वपूर्ण खेलाडी टोलीमा नहुँदा पनि अभाव खड्कन दिएनन् र नयाँ खेलाडीलाई मौका दिए ।

नयाँ खेलाडीमा उदीयमान नाम बनेको छ– प्रिती राईको । प्रितीजस्तै अन्य पाँचजना खेलाडीले यस पटकको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनीसँगै रश्मिकुमारी घिसिङ, सविता राना मगर, रजनी थोकर र सिर्जना सिंहले पनि यसपालिको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका हुन् । फिलिप्सले नेपाली महिला फुटबलमा आशा जगाएका छन् ।

नेपाली महिला फुटबलमा लामो समयदेखि चल्दै आएको समस्या ‘फिटनेस’ मानिन्छ । पुराना महिला खेलाडीको विवाह हुने, बच्चा हुने र फिटनेस तथा अन्य कारणले खेल छोड्ने समस्या छ । पुराना खेलाडीमा अनुभव हुन्छ, तर फिटनेसको समस्या तथा घाइते भएर इन्जुरी रिकभर हुन एकदमै समय लाग्ने अवस्था छ । यसले करिअर नै छाड्ने समस्या उत्पन्न भएको देखिन्छ ।

पछिल्लो समय निकै आश गरिएको खेलाडी हुन् अनिता बस्नेत, तर भर्खरै सकिएको मैत्रीपूर्ण खेलमा उनी खासै फिट देखिइनन् । यस्ता कुराले पुराना खेलाडीलाई नयाँले प्रतिस्थापन गर्ने सम्भावना अधिक देखिन्छ । मैदानमा उत्रने खेलाडीको प्रदर्शनले नेपाली फुटबलको भविष्य निर्धारण गर्ने छ । 
 

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १७:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया