एमालेबाट जितेर समाजवादीमा लाग्नेलाई जनताले चुनावमा दण्ड दिन्छन् : भीम रावल
एमाले सुदूरपश्चिम संयोजक आफैँ भएको दाबी

एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन हुने दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन नहुने भनिरहेका वेला नेता रावलले धनगढी पुगेर १० बुँदे सहमति पालना हुने बताएका हुन् ।

‘एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको हो,’ उनले भने, ‘जनताको भावना, कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे भएको हो, कार्यान्वयन हुन्छ ।’ उनले मदन भण्डारीले उठाएको राष्ट्रबादको झण्डा आफूहरुले उठाइरहने बताए ।

केही स्वार्थी पदलोलुप्तहरुले आफ्नो भाग खोसिने चिन्ता गरेर अनेक हल्ला गरेको संकेत गर्दै उनले भने,  ‘कोही–कोही जन्ते ताउलोमा होइन, खिचडी पकाउने कसौडीमा खान खोज्छन तर, एमालेमा त्यस्तो हुँदैन ।’

एमाले छाडेर एकीकृत समाजवादी बनेकाहरुले एमसिसीबारे आफ्नो धारणा किन नल्याएको ? भन्दै उनले प्रश्न गरेका छन् । जनताको हितमा छौँ भन्नेहरु किन चुप छन् भन्दै उनले प्रश्न गरे ।

 ‘समाजवादीमा लाग्न विकास योजना र पद दिन खोजिएको छ, तर हामीहरु पद, प्रतिष्ठाका लागि कम्युनिस्ट भएका होइनौँ,’ डा. रावलले भने, ‘कतिपयलाई कांग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ, तर त्यस्तो सम्भव छैन ।’

कांग्रेसमा आफ्नै समस्या रहेकाले उसले समाजवादी र माओवादीलाई मिलाउन नसक्ने उनले दाबी गरे ।  उनले भने, ‘महाकाली, गण्डकी र एससिसीको पक्षधर कांग्रेससित कसरी मिल्नुहुन्छ ? यो कस्तो सिद्धान्त हो ? त्योभन्दा त कांग्रेस भए पनि भयो नि !’  उपाध्यक्ष रावलले १० बुँदे सहमति भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै तुक नभएको बताए ।
 
उनले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाए । माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)मा गएका सुदूरपश्चिमका नेताप्रति इंगित गर्दै रावलले भने, ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईंका लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु । यो धर्ती पल्टेला कमरेड ! तर तपाईंको साथ छाड्दैनौँ भन्थे। तर, अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखेँ ।’ उनले एमालेबाट जितेर समाजवादीमा लाग्नेलाई जनताले चुनावमार्फत दण्ड दिने ठोकुवा गरे ।



नेता रावले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको बताउँदै आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा रहेको दाबी गरे । ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन,’ रावलले भने । 

एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए ।



  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १७:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया