फरक–फरक कार्यक्रममा रावल र भट्टको एउटै दाबी : एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैजना अहिले गृहप्रदेश सुदूरपश्चिममा छन् । रावल मंगलबार धनगढी पुगेका हुन् भने भट्ट सोमबारदेखि नै सुदूरपश्चिममा छन् ।

रावलले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । भट्टले कञ्चनपुरमा घोषणा गरिएको सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनसँगै पत्रकार सम्मेलनमा सहभागी भए । फरक–फरक कार्यक्रममा सहभागी भएको नेताद्वयले सुदूरपश्चिमको नेतृत्व आफ्नै हातमा भएको भन्दै कार्याकर्तालाई विचलित नहुन आग्रह गरे । 

धनगढीको एमाले पार्टी कार्यालयमा कार्याकर्तालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले आफू सुदूरपश्चिम संयोजकको हैसियतमै उपस्थित भएको बताए । ‘म पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतामा छु,’ रावलले कार्यकर्ता भेला सम्बोधनको क्रममा पटक–पटक भने, ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन ।’ 

नेता रावलले पार्टी एकताका लागि गरिएको १० बुँदे सहमतिमा यसअघि माओवादी र एमाले एकीकरणपछि बनेको नेकपाको कुरालाई पनि मनन गरिएको बताए ।

फागुन २३ गतेको सर्वोच्चको फैसलापछि माओवादी केन्द्रबाट आएकाहरू एमालेमै रहेकाहरूलाई १० बुँदेले पार्टीमा सम्बोधन गरेको उनले बताए ।



‘नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेकाहरूलाई सोही अनुसारको जिम्मेवारी दिइनेछ । पार्टी एकतालाई बलियो बनाउने उद्देश्यका साथ उहाँहरूलाई १० बुँदामा सम्बोधन गर्यौं,’ उनले भने ।

यस्तै, मंगलबार नै कञ्चनपुरमा भएको कार्यक्रममा एमाले नेता लेखराज भट्टले सुदूरपश्चिमको नेतृत्वमा आफैँ भएको बताए । पूर्वमन्त्रीसमेत रहेका भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउँदै भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर मलाई प्रदेश इन्चार्ज तोकेका हुन् । इन्चार्जको विषयमा कुनै विवाद छैन ।’ 



एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए ।  रावल १० बुँदे सहमतिअनुसार पार्टी जेठ २ मा फर्किएको र सोअनुसार आफू नै सुदूरपश्चिम इञ्चार्ज भएको बताउँदै आएका छन् ।

सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल र लेखराज भट्ट दुवैले प्रदेश इन्चार्जमा चासो देखाएपछि पार्टीमा टकराब सिर्जना भएको छ । 

माओवादी केन्द्र र एमाले एकता हुनुअघि भीम रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजक थिए भने लेखराज भट्ट माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज थिए । 

पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रावल पार्टीका प्रदेश इन्चार्ज थिए भने लेखराज उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा थिए । पार्टीमा अन्तर्विरोध चर्किँदा लेखराजले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई साथ दिए । रावल, माधव–प्रचण्डसहितको गुटमा थिए ।
 
विवाद बढ्दै जाँदा एमाले अध्यक्ष ओलीले भीम रावलको जिम्मेवारी खोसेर लेखराजलाई प्रदेश इन्चार्ज तोकेका थिए । अन्ततः पार्टी पूर्ववत् अवस्थामै फर्किएपछि भने लेखराजलगायतका केही माओवादी पृष्ठभूमिका नेताहरू एमालेमै बसे । माधव समूहले गठन गरेको समानान्तर कमिटी सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी रावलले लिए । 

आन्तरिक कलहले एमाले पनि टुक्रिँदै माधव नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी खोले । तर, यसपटक रावलले उनको त्यो कदममा साथ दिएनन् । उनी एमालेमै बसे । 

माओवादी र एमाले दुवै पार्टी एक हुँदा बनेको नेकपा हुँदा पनि एक ठाउँमा नआएको भट्ट र रावल फेरि विवाद सुरु भएको हो ।


  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १८:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया