नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमाले अहिले अप्ठेरो अवस्थामा रहेको बताएका छन् ।
उनले आज बुटबलमा भएको सभालाई सम्बोधन गर्दै अब जिम्मेवारपूर्वक इतिहासको समीक्षा गर्नुपर्ने बताए ।
‘अप्ठेरोमा नआत्तिन र सप्ठ्यारोमा नमात्तिने भन्ने पाठ हामीले इतिहासबाट सिकेका छौं । जिम्मेवार पार्टीले यो कुरा हरबखत ख्याल गर्नुपर्छ’, उनले भने, ‘आज हामीले जे बेहोर्दै छौं। वास्तविक राजनीतिक जीवनमा हामीले अझ बढी जिम्मेवारीपूर्वक छलफल गर्नुपर्छ ।’
नेपालले गएको ७० वर्षमा लोकतान्त्रिक स्थिरताका साथ विकास खोजेको उनले बताए । राष्ट्रिय एकताको साथ अघि बढ्ने संकल्प मुलुकको रहेको उनले जनाए ।
‘दुर्भाग्य, यति गौरवपूर्ण इतिहासमा केही नकारात्मक पाटाहरु छन् । पटक पटक सामाना गर्दै आएका, सामना गर्न नसकेका कुरा छन् । लोकतन्त्र र स्थिरता एकैपटक खोजेका हौं हामीले’, भुसालले भने ।
उनले अगाडि भने, ‘२०७४ सालमा दुई पार्टीबीच एकता भएपछि फेरि खेलबाड भयो वा भएन, यसको असाध्यै गहिरो समीक्षा गर्नुपर्ने छ। हामी धेरै अप्ठेरोमा छौ, कहाँ थियौं, कहाँ खसेका छौं ।’
एमालेको ठाउँमा अरु चिज फुटेको भए काँचको टुक्रा फुटेजस्तो सयौं टुक्रा हुने उनले बताए । ‘तर यो एमाले थियो । आज पनि सबैभन्दा बढी प्रभावकारी खेल खेल्नु पर्ने ठाउँमा एमाले छ । हामी आत्तिने होइन । आज पनि हामी सबैभन्दा ठूलो राष्ट्रिय शक्ति हौं, हामीलाई मात्तिने छुट छैन’, उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।