मकवनपुरको बकैया गाउँपालिका ५ मा पर्ने श्रीपुरको उकालोमा वर्षामा सधैँ हिलो र हिउँदमा सधैँ धुलो हुने गर्छ । मदन भण्डारी राजमार्ग धरान–चतरा–हेटौँडा सडक खण्डको करिब १ हजार २ सय मिटर सडक खण्ड नबन्दा स्थानीयले सास्ती खेप्दै आएका छन् ।
धरान–चतरा सडक आयोजनामा उक्त सडक खण्ड पर्ने भए तापनि फास्ट ट्र्याकले उक्त धरान–चतरा मार्ग जोड्ने विन्दुको दायाँ–बायाँ दुवै ६ सय मिटर गरेर १२ सय मिटर बनाउने भन्दै नेपाली सेनाले भौतिक पूर्वाधारमार्फत योजना लिएको थियो ।
नेपाली सेनाले धरान–चतरा सडकले भेट्ने विन्दु र पुलको डिजाइन नदिँदा धरान चतरा सडक आयोजनाले काम गर्न नसकेपछि संघीय सरकारको भौतिक मन्त्रालयमार्फत सेनाले नै उक्त विन्दुको आसपासको सडक आफैँले बनाउने बताएको थियो ।
मदनभण्डारी राजमार्ग (धरान–चतरा–हेटौँडा सडक) आयोजनाका सूचना अधिकारी निरन्जन थापाले फास्ट ट्र्याक सडक आयोजनाको उक्त विन्दुमा पुल बन्ने र पुल डिजाइन अनुसार नै सो क्षेत्रको सडक निर्माण गर्ने हुँदा सेनालाई नै जिम्मा दिएको बताए ।
उनले नेपाली सेनाले पुल नबनाएसम्म उक्त सडक खण्ड निर्माण गर्न नमिल्ने र मिले पनि पुल निर्माण पछि फेरि सडक बनाउन पर्ने भएकोले अहिले नबनाएको बताए ।
तर, सेनाले लिएको काम नहुँदा मकवानपुरको बकैया र बागमती गाउँपालिकाका बासिन्दालाई समस्या भएको स्थानीय सरोज तामाङले बताए ।
१२ सय मिटर सडक नबन्दा बागमती प्रदेशको राजधानी हेटौँडासँग जोडिने बकैया र बागमती गाउँपालिकाको ठूलो जनसंख्याले अहिले सास्ती भेगिरहेको स्थानीय विक्रम लामा बताउँछन् ।
धरान चतराले मकवानपुरको पश्चिम क्षेत्रमा जनजीवन नै परिवर्तन गरिहरको बेला हेटौँडाबाट २३ किलोमिटर दूरीमा रहेको उक्त खण्ड बनाउन स्थानीयले पटक–पटक ध्यानाकर्षण गराए पनि फास्ट ट्र्याक हेरिरहेको नेपाली सेनाले बेवास्ता गरिरहेको छ ।
थोरै सडक खण्डका कारण दैनिक सयौँ सवारीसाधन हिँड्ने उक्त बाटोमा साना–ठूला दुर्घटना दैनिकजसो हुने गरको लामाले जानकारी दिए ।
केही समयअगाडि बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाईते भएका थिए भने कालिका कन्सट्रक्सनको ट्रिपर दुर्घटना हुँदा एकजनाको ज्यान समेत गएको थियो ।
अहिले दैनिक साना सवारीसाधन पल्टने समस्या उक्त स्थानको लागि सामान्य जस्तो नै भइसकेको स्थानीयहरु बताउँछन् ।
धरान–चतरा सडक आयोजनाले मकवानपुर तर्फको ९५ प्रतिशत काम गरिसक्दा बकैया ५ को सडक खण्ड नबन्दा प्रभावकारी आयोजना प्रभावकारी देखिएको छैन। धरान–चतराका सडक खण्डको मकवानपुर तर्फको हेटौँडा उपमहानगरपालिका १६ र ५ नम्बरका वडामा सडक निर्माण र नयाँ ठेक्का भएको पुलको काम बाँकी रहेको सूचना अधिकारी थापाले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।