नीलम कार्की निहारिकाका योगमायामय तीन दसैँ

दुई वर्ष अघिको दसैँमा यज्ञनिधि दाहालले योगमाया लेख्नका लागि शीर्षक दिनुभयो । जतिवेला चीरहरणको पद्मश्री पुरस्कार ग्रहणका लागि म दसैँको टीकाको दिन नै अमेरिकाबाट हिँडेकी थिएँ । दसैँको पूर्णिमाको दिन सम्पन्न भएको उक्त कार्यक्रमबाट यज्ञनिधि गुरुलाई भेट्ने मौका पाएकी थिएँ । बितेका केही दसैँ र यो दसैँ सबै मेरो योगमायामय भयो । दसैँसँग मेरो लेखन यात्राले पनि सफलता पाउँदै गएको छ । 

०७३ सालको दसैँमा घरमा टीका थिएन । पुरस्कार ग्रहणका लागि नेपाल आएकी थिएँ । अघिल्लो दसैँले मलाई लेख्ने शीर्षक दियो । पछिल्लो दसैँले लेखनलाई साथ दियो र अहिलेको दसैँमा मेरो कृतिले सफलता पाएको छ । मेरो लेखनसँग दसैँ सधैँ जोडिएर आएको छ । 

मलाई अझै सम्झना छ । रसियन कल्चर सेन्टरमा भएको कार्यक्रममा विशिष्ट पाहुना आउनुभएको थियो । दाहाल सर र मेरो बसाइ एकैतिर थियो । सँगै फर्किने सल्लाह गरेर हामी गाडी कुर्न थाल्यौँ । पुरस्कार ग्रहण समारोहपछि रसियन कल्चर सेन्टर नजिकैको मिठाई पसलमा बसेर दाहाल सरसहित हामी साथीहरू चिया पिउँदै थियौँ ।

चीरहरणको सफलतामा मलाई धेरै शुभचिन्तकले बधाई दिइरहनुभएको थियो । कुरा गर्दागर्दै दाहाल सरले भन्नुभयो –नानीको कलममा परिपक्वता आयो । योगमायालाई राम्रोसँग खोजी गर्नू, त्यसबारे तपार्इं लेख्न सक्नुहुन्छ । 

मलाई लाग्यो, उहाँले योगमायाको इतिहास उतार्न सक्ने मानिस खोजिरहनुभएको छ । उहाँले भन्नुभएको कुरा मलाई तुरुन्तै क्लिक भयो । एक किसिमको जिम्मेवारी सुम्पिनुभयो जस्तो लाग्यो ।

तर, उहाँले भनिरहँदा मलाई योगमायाको बारेमा ‘शून्य’ बराबर पनि तथ्य थाहा थिएन । थाहै थिएन भन्दा योगमाया न्यौपानेले ६८ जना महिलासहित अरुण नदीमा जल समाधि लिएकी थिइन् भन्ने मात्र थाहा थियो । र, उनी इतिहासकी अग्रणी महिला हुन्, सतीप्रथा उन्मूलनमा उनको भूमिका महत्वपूर्ण रहेको पनि थाहा थियो । 



सिंगो किताब लेख्न त्यो जानकारी शून्यबराबर नै थियो र त्यति नै जानकारी पर्याप्त पनि थियो । किनकि किताब यही कुराको वरिपरि घुमेको छ । त्यसपछि म घर आएँ । गुरुले नै भनिसकेपछि त्यहाँ पक्कै रहस्य छ भन्ने लागेर मैले गुगल सर्च गरेँ । मसँग गुगलसँग भन्दा ज्यादा जानकारी रहेछ । निराश भइनँ । केही किताब पाइन्छ कि भनेर बजारमा निस्किएँ । गोविन्दमानसिंह कार्कीको किताब पाएँ । उहाँसँग पनि भेटेँ र योगमायाका बारेमा लेखिएका दस्ताबेजको खोजी गरेँ । द्वितीय स्रोतबाट प्राप्त जानकारी लिएर म अमेरिका फर्किए । मैले अमेरिका बस्दा पनि धेरै खोजी गरेँ । 

०७४ सालको असारमा नेपाल आएर म अनुसन्धानका लागि भोजपुर गएँ । त्यहाँ मैले पुराना मानिसलाई भेटेँ । योगमायाको नाममा संघसंस्था खोलेर बसेकासँग पनि तथ्यांक संकलन गरेँ । आवश्यक तथ्य सामग्री संकलनपछि अमेरिका फर्किएँ । मसँग आवश्यक तथ्यांकको अलावा योगमाया लेख्ने हुटहुटी थियो । 



मनमा किताबका केही प्लट निर्माण हुँदै जाँदा ०७४ सालको दसैँ नजिकियो । अघिल्लो दसैँमा पनि टीका नलगाएको हुनाले सपरिवारका लागि यो दसैँ महत्वपूर्ण थियो । म अमेरिकामै थिएँ । पारिवारिक जमघट, हर्षोल्लास त छँदै थियो । योगमायाका प्लटहरूले मन थप उत्साहित थियो । 

दोहोरो आनन्द मिलेको प्रतीत भयो मलाई, त्यस दसैँमा । अरू वेला भएको भए यस्ता पर्वले बाधा पुर्याएजस्तो लाग्थ्यो । दुई वर्षमा आएको दसैँ भएर दुवैलाई सम्हाल्न सकेँ, मैले ।

घरमा आमाबिनाको टीका थियो । कता–कता नरमाइलो पनि लागिरहेको थियो । मिश्रित थियो दसैँ । संयोग जुरेको थियो कि मैले धेरै परिस्थिति एकैपटक महसुस गर्न पाएँ । लेखन र दसैँको उत्साह बराबर भयो । पारिवारिक जमघटमा पनि सामेल भएँ । तर, मैले हरेक दिन थोरै भए पनि लेखेँ । लेख्छु भनेका वेलामा लेख्न नपाउँदा मानसिक दबाब थियो । यता दसैँको रमाइलोमा कटौती भएजस्तो पनि लाग्यो ।

योगमाया लेखनको पिक आवरमा थिएँ, म । परिवारसँग घुलमिल भइरहँदा पनि किताबले मानसिक दबाब सिर्जना गरिरहेको थियो । समग्रमा ०७४ सालको दसैँ रमाइलोसँग बित्यो । 

यो वर्ष दुर्भाग्य मेरो ससुराबुबा स्वर्गीय हुनुभयो । टीका लगाइन्न । तर, मेरो कृति योगमायाले सफलता पाएको छ । निकै खुसी छु । यो दसैँमा म आफ्नी आमाको साथमा छु । २८ वर्षपछि जन्मथलो पाल्पा जाँदै छु । त्यहाँ सम्मान कार्यक्रम आयोजना गरिएको छ । याे मेरा लागि अविस्मरणीय क्षण हो ।

तीन वर्षका तीन दसैँबीच मैले साहित्यमा एक खालको उचाइ बनाउन सफल भएँ । मेरो लेखन यात्रा र दसैँ एक आपसमा जोडिएर सम्झनामा आउँछन् । सायद मलाई पछिसम्म पनि याद भइरहने दसैँ यी तीन नै हुन सक्छन् । 

०७३ सालको दसैँमा मेरो चीरहरण कृतिले सफलता पायो । साथै योगमायाको भ्रुण मस्तिष्कमा बीजारोपण भयो । ०७२ सालको दसैँसँगै मैले योगमायालाई हुर्काएँ । ०७४ सालमा योगमायाले सफलता प्राप्त गर्यो । जुन क्षण मैले गरेको कर्मको फल पाएँ त्यति खुसी सायद नै अरू वेला पाउन सकिएला ।

  • प्रकाशित मिति : असोज ३०, २०७५ मंगलबार ९:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया