\
प्रदेश १ को मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषदमा ५ जना मन्त्री थपेका छन् ।
आचार्यले संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हीराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्त भएका थिए ।
नयाँ मन्त्रिमण्डल विस्तार गरेसँगै प्रदेश १ को मन्त्रिपरिषद ८ सदस्यीय भएको छ । मुख्यमन्त्री पछाडि मन्त्रीहरुको वरीयतामा क्रमशः न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङलाई राखिएको छ । यस्तै, बस्नेत पाँचौँ, राजवंशी छैटौँ र अधिकारीलाई सातौँ नम्बरको वरीयतामा राखिएको छ ।
संविधानअनुसार मुख्यमन्त्रीको पार्टी विभाजन भएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
नेकपा एमालेको विभाजनले भदौ ९ गते निर्वाचन आयोगबाट वैधानिकता पाएकाले असोज ८ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने दाबी विपक्षी गठबन्धनले गरिरहेको छ ।
आचार्यले भने असोजको अन्तिम साता मात्र विश्वासको मत लिने तयारीसहित मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।