सुदूरपश्चिममा भीम रावल—लेखराज भट्ट टकरावः कसले मार्ला बाजी ?

पछिल्ला केही दिन यता नेकपा एमालेले जिल्लाजिल्लामा आफ्ना कार्यक्रमको रफ्तार बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नै पनि प्रत्येक दिन जसो एउटा जिल्लामा पुगेका छन्, कार्यकर्ता भेलामा सम्बोधन गरिरहेका छन् ।

यसअघि नेकपा एमालेमा दुई धारमा रहेका नेताहरु पनि अब एउटै मन्चमा देखिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो, गुल्मीमा बुधबार भएको जिल्ला कार्यकर्ता भेला । बुधबार गुल्मीमा एमाले सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट एउटै मन्चमा देखिए, दुवैले नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका माधवकुमार नेपालको चर्को आलोचना गरे ।

अन्य जिल्लामा पनि अहिले यो लहर देखिएको छ । 

तर, सुदूरपश्चिममा नेकपा एमालेको चित्र अलिक फरक छ । अरु जिल्लामा यसअघि फरक फरक समूहमा रहेका नेताहरु पनि एउटै मन्चमा देखिन थालेका छन् भने सुदूरपश्चिममा चाहिँ थोरै फरक अवस्था छ । किनकि सुदूरपश्चिममा जो दुई नेता एकअर्कासँग भिडिरहेका छन्, उनीहरु दुवै यसअघि नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर होइनन् ।

ती हुन्– भीम रावल र लेखराज भट्ट ।

रावल नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी बन्नुअघि माधवकुमार नेपाल पक्षमा थिए भने लेखराज भट्ट यसअघि नेकपा माओवादी केन्द्रमा थिए । अब दुवै नेता नेकपा एमालेमा आएका छन् । र, बढेको छ उनीहरुबीचको संघर्ष पनि ।



यो संघर्ष थप बढ्नुमा यी दुई नेताको जिम्मेवारीको पनि ठूलो भूमिका छ ।

यसअघि नेकपा एमालेमा हुँदा यो प्रदेशको जिम्मेवारी पाएका थिए, रावलले । तर, जब रावल नेपाल पक्षमा लागे र भट्टले माओवादी केन्द्र छोडेर ओलीलाई समर्थन गरे, ओलीले सुदूरपश्चिमको एमाले कमाण्डर बनाए, भट्टलाई ।



केहीदिन अघि यही विषयमा काठमाडौंमा आयोजित एक कार्यक्रममा र रावलसँगको भेटमा पनि एमाले अध्यक्ष ओलीले स्पष्ट भने– अब सुदूरपश्चिमको एमाले इन्चार्ज भट्ट हुन्, तपाईं एमाले उपाध्यक्ष भएर काम गर्नुहोस् ।

भट्टलाई नै सुदूरपश्चिम इन्चार्जमा ओलीले इन्डोर्स गरेसँगै दुवै नेता अहिले सुदूरपश्चिममा छन्, त्यहाँका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दैनिक भेटघाट र कार्यक्रममा व्यस्त छन् । कतिसम्म भने छुट्टाछुट्टै कार्यक्रममा यी दुवैले आफैंलाई एमाले इन्चार्ज भएको दाबीसमेत गरिरहेका छन् ।

कैलाली र कन्चनपुर, अछामका जिल्लामा समेत पुगेर अहिले यी दुवै नेता आआफ्नो पक्षमा माहोल बनाउन लागिरहेका छन् ।

र, त्यसका लागि उनीहरुले सुदूरपश्चिमका पत्रकारहरुसँग पनि छलफल बढाएका छन् । बुधबार मात्र एक पत्रकार सम्मेलन गर्दै भट्टले पार्टीको निर्णयलाई आफूले मान्ने भएकाले र पार्टी नेतृत्वको कुरा स्वीकार गर्ने भएकाले आफू सुदूरपश्चिमको एमाले इन्चार्ज भएको बताएका छन् । 

‘अहिले हाम्रो पार्टीको लिडर भनेको केपी शर्मा ओली हुनुहुन्छ,’ बुधबार पत्रकार सम्मेलनमा भट्टले भने, ‘हो, केन्द्रीय समितिमा १० बुँदे प्रस्ताव गएको छ, यसमा छलफल भएको छ तर २ जेठमा पार्टी फर्किसकेको निर्णय भएको छैन । त्यसैले पनि अहिलेका लागि म नै सुदूरपश्चिमको इन्चार्ज हुँ ।’

यतिमात्र होइन, केही दिनअघि बालकोटस्थित ओली निवासमा आफूलाई र रावललाई ओलीले बोलाएको प्रसंगलाई पनि भट्टले सम्झिए ।

‘त्यो दिन अध्यक्ष कमरेडकहाँ म, सुवास नेम्वाङ, विष्णु पौडेल, ईश्वर पोखरेल, कर्ण थापा, भीम रावल थियौँ,’ भट्टले भनेका छन्, ‘ओली कमरेडले स्पष्ट रुपमा भन्नु भएको थियो— अहिले पार्टी इन्चार्ज लेखराजजी र अध्यक्ष कर्णजी हो ।’

आफूले अध्यक्षको कुरा मानेको भन्दै भट्टले यसलाई सबैले मान्नु पर्ने पनि बताएका छन् । ‘यहाँ विवाद गर्नु कुनै कारण छैन,’ भट्टले कार्यक्रममा भने, ‘ओली कमरेडले रावल भएको त्यो छलफलमा स्पष्ट भन्नुभएको छ– अब एमालेमा २ जेठ कायम हुनैसक्दैन, एमालेमा २ जेठ बनाउन त माधवकुमार नेपाल पनि हुन पर्यो नि ।’

ओलीले बालकोटमा यसो भने पनि रावलले अहिले सुदूरपश्चिममा भनिरहेका छन्– एमालेको एकता भएको नै १० बुँदे कार्यान्वय हुन्छ भनेर हो, त्यो कार्यान्वयन हुन्छ ।

एमाले फेरि २ जेठ २०७५ मा फर्किएला वा नफर्किएला । तर, यसअघि विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझावअनुसार १० बुँदेमा एमाले २ जेठ २०७५मा फर्किनु पर्ने उल्लेख गरिएको छ । यही १० बुँदेलाई आधार बनाएर यसअघि नेपाल समूहमा रहेका रावललगायत नेताहरु अहिले एमालेमा फर्किएका छन् ।

अर्कोतिर गत साता पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका एमाले अध्यक्ष ओलीले अब २ जेठमा एमाले फर्किन सम्भव नभएको बताएका छन् ।

त्यसैले अब सुदूरपश्चिममा प्रश्न चर्को भएको छ— आखिर सुदूरपश्चिममा कसले मार्ला त बाजी— रावल कि भट्ट ?

यो प्रश्नको जवाफका लागि थोरै सुदूरपश्चिममा पछिल्लो समय देखिएको राजनीतिक फेरबदलबारे बुझ्न जरुरी छ ।

यसअघि सुदूरपश्चिमको प्रदेश सभामा रावल निकै बलिया थिए । तर, एमाले विभाजनपछि रावलले यो शक्तिलाई जोगाउन सकेका छैनन् । सुदूरपश्चिमका १४ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन् । यीमध्ये १३ जना यसअघि रावललाई आफ्नो नेता मान्थे, उनले जे गर्छन् त्यही गर्छौँ भन्ने अभिव्यक्ति दिइरहेका हुन्थे । 

तर, रावलले एमालेको साथ छोडेनन्, उनीहरुले रावलको साथ छोडे ।

अर्कोतिर, भट्ट पनि नेकपा माओवादी केन्द्रमा हुँदा जति बलियो सुदूरपश्चिममा देखिएका थिए, अहिले त्यतिकै प्रभावकारी छैनन् । माओवादी केन्द्र छाडेर एमालेमा भट्ट जानुलाई धेरैले उनको सत्तामोहका रुपमा सुरुमा चित्रण गरे ।

यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा हुँदा सुदूरपश्चिमको जिम्मेवारी भट्टले नपाएपछि उनको शक्तिको क्षयीकरण हुन थालेको थियो, अन्ततः एमाले रोजेपछि अहिले उनलाई निकै ठूलो क्षय सुदूरपश्चिमको राजनीतिमा देखिएको छ ।

किनकि यसअघि सुदूरपश्चिमका माओवादी केन्द्रका १४ केन्द्रीय सदस्यले भट्टलाई आफ्नो नेता मान्थे । तर, जब भट्टले एमाले रोजे, यी १४ ले उनलाई रोजेनन् । प्रदेश सभामा पनि भट्टलाई साथ दिने नेताको संख्या एकमा सिमित भयो ।

त्यसैले पछिल्लो समय रावल र भट्टको टकरावले सुदूरपश्चिममा एमाले नेता तथा कार्यकर्ता अन्योलमा परेका छन्, कसलाई रोज्ने भन्नेमा द्विविधामा परेका छन् । अनि अहिले रावलको कार्यक्रममा जानेहरु भट्टको कार्यक्रममा गएका छैनन्, भट्टको कार्यक्रममा जानेहरुले रावललाई बहिस्कार गरेका छन् ।

यी दुईको लडाइँमा सुदूरपश्चिममा अर्का एमाले नेता कर्ण थापालाई भने फाइदा पुगेको देखिन्छ । एमाले अध्यक्ष ओलीनिकट थापाले कतै रावल र भट्टको लडाइँको फाइदा उठाउँदै सुदूरपश्चिमको इन्चार्ज आफ्नो पोल्टामा पार्ने त होइनन् ? यस्तो निष्कर्षमा पुग्न अझै केही महिना कुर्न पर्ने देखिन्छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार २१:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया