\
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य कहिलेसम्म सत्तामा रहिरहन्छन् ? यसको उत्तर अब सायद उनीसँग पनि छैन । तर, एक महिनाभन्दा बढी अब उनी प्रदेश १ को मुख्यमन्त्री नबन्ने निश्चित भइसकेको छ ।
यहीबीचमा पनि मुख्यमन्त्री आचार्यले बुधबार सरकार विस्तार गरेका छन् ।
उनले आज केही मन्त्री र राज्यमन्त्री थपेका हुन् ।
एकातिर मुख्यमन्त्री आचार्यले एक महिनाभित्र अब विश्वासको मत लिनु पर्ने छ भने प्रदेश १ मा विपक्षी गठबन्धनले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी पनि गरेका छन् ।
९२ सदस्यीय प्रदेश १ मा मुख्यमन्त्री आचार्यका लागि विश्वासको मत पुर्याउन ४७ सांसदको साथ चाहिन्छ । तर, नेकपा एमाले छाडेर १० सांसदले नेकपा एकीकृत समाजवादी रोजिसकेका छन् । यसको अर्थ हो, अब एमालेसँग त्यहाँ ४१ सांसद मात्र बाँकी छन् । उनीहरु सबैले साथ दिँदा पनि मुख्यमन्त्री आचार्यको पक्षमा विश्वासको मत पुग्ने देखिन्न ।
बरु विपक्षमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका एक सांसद छन् । यसलाई जोड्ने हो भने ५० जना पुग्छन् । अनि राप्रपाका एक सांसदले पनि उनको विपक्षमा मत हाल्दा विपक्षीहरुलाई बहुमत पुग्छ ।
तर, यस्तो अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तार गरे । त्यसैले उनलाई छिटो हटाउने प्रयासमा विपक्षी गठबन्धनका नेता जुट्न थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।