माधव नेपालको डर— पार्टी फुट्न सक्छ !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म देउवाले चार मन्त्री र एक राज्यमन्त्रीको सहयोगमा सरकार चलाइरहेका छन् ।

पछिल्लो समय सरकार सन्चालनमा समस्या भएको भन्दै देउवाको यो शैलीलाई सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले नै पनि आलोचना गर्न थालेका छन् ।

तर, देउवाले बारम्बार प्रयास गर्दा पनि सरकार विस्तार गर्न सकेका छैनन् ।

‘सरकार विस्तार नहुनुमा नेपाली कांग्रेस वा प्रधानमन्त्री देउवा भन्दा पनि बढी जिम्मेवार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन्,’ देउवा निकट एक नेताले फरकधारलाई बताए, ‘उहाँहरुले अहिलेको अध्यादेश निस्क्रिय नभएसम्म सरकार विस्तार नगर्न प्रधानमन्त्री देउवालाई अनुरोध गर्दै आउनु भएको छ ।’

उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग यस्तो अनुरोध गरेको बताएका छन् ।

त्यसो त यादवले केही दिनअघि एक कार्यक्रममा अध्यादेश सक्रिय हुँदाहुँदै मन्त्रिपरिषद् विस्तार गरे आफ्नो पार्टी फेरि फुट्न सक्ने सम्भावना बढेको सार्वजनिक रुपमा नै बताएका थिए ।



अर्कोतिर माधवकुमार नेपालले पनि अध्यादेश सक्रिय हुँदा नै मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा एकीकृत समाजवादी पार्टी पनि फेरि फुट्न सक्ने आशंका गरेका छन् ।

नेकपा एकीकृत समाजवादीमा यसअघि नेकपा एमालेबाट आएका ९ जना नेता एकसाथ रहेको र मन्त्रिपरिषद् विस्तारमा यीमध्ये केही नेता नपरे उनीहरुले नै पार्टी फुटाउन सक्ने आशंका नेपालले गरेका हुन् ।



‘किसान श्रेष्ठ, प्रेम आलेलगायतका माननीयहरुलाई यसअघि नै सरकारमा समावेश गराउने आश्वासन दिइएको थियो,’ नेकपा एमालेका एक नेता भन्छन्, ‘उहाँहरु मन्त्रिपरिषद्मा नपर्दा उहाँहरुले नै ८ जना माननीय लिएर पार्टी फुटाउन सक्नुहुन्छ, त्यसैले नेपालमा यो डर पलाएको हुनसक्छ ।’

देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुने गरि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । यसअघि राजनीतिक दल फुटाउन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्यको साथ चाहिन्थ्यो । तर, एमाले र जसपा विभाजनका लागि सहज बनाउन देउवा नेतृत्वको सरकारले केन्द्रीय कमिटी वा संसदीय दलका २० प्रतिशत सदस्यले साथ दिएमा नयाँ पार्टी दर्ता गर्न सक्ने अध्यादेश ल्याएको थियो ।

अब यो अध्यादेश निस्क्रिए बनाए पछि मात्र देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सम्भावना बढेको छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार २२:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया