सीमामा तस्कर सल्बलाउन थाले : डिआइजी

चाडबाड नजिकिँदै गर्दा अवैध सीमा वारपारको व्यापार फस्टाएको भन्दै प्रहरीले निगरानी बढाएको छ । चाडबाड सुरक्षा योजना लागू गर्ने तयारीमा रहेको प्रदेश १ प्रहरीले सीमामा हुने गतिविधि रोक्न थप बल प्रयोग गरेको जनाएको छ ।

चाडबाडका बेला अवैध सीमा वारपारको व्यापार फस्टाउने भन्दै यसलाई रोक्न छुट्टै योजना ल्याउने तयारीमा रहेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण कुमार विसीले बताए ।

उनका अनुसार सीमामा हुने गतिविधि रोक्न सीमानामा थप प्रहरी परिचालन गरिने बताए । ‘हामी एक दुई दिन भित्रमै चाडबाड लक्षित सुरक्षा योजना लागू गर्ने तयारीमा छौँ’, डिआइजी विसीले भने, ‘यसमा क्रस बोर्डरको इस्यु समेत समाधान गर्ने गरी काम गर्ने छौँ ।’

पछिल्लो समय अवैध सीमावारपारको व्यापारमा कमी आएको भए पनि दशैं आएकाले सीमामा तस्करहरू सल्बलाउन थालेको डिआइजी विसीले जानकारी दिए । ‘सीमामा तस्कर सल्बलाउन थालेका छन् । यसलाई रोक्न हामीले काम थालेका छाैँ’​, उनले भने ।

डिआइजी विसीका अनुसार नेपालबाट हरियो मटर भारततर्फ जान थालेको  छ । यस्तै भारतबाट दैनिक उपभोग्य वस्तु नेपाल आइरहेको छ ।

संगठित गिरोहले लाइन मिलाएर भन्दा पनि सानो सानो स्केलमा सामानहरू अवैध रूपमा वारपार गर्न थालेकाले सीमानामा थप कडाइ आवश्यक रहेकोे उनले बताए ।



कपडामा प्रहरीको आँखा

भारतबाट नेपालतर्फ अवैध रूपमा कपडा नेपाल आउन थालेको भन्दै प्रहरीले यसतर्फ ध्यान दिन थालेको छ । प्रहरीले एक सातामा अवैध रूपमा भन्सार छलेर ल्याउने काममा संलग्न तीन जनालाई मोरङमा मात्रै पक्राउ गरेको छ ।



बुधबार मात्रै विराटनगर-११ मा भण्डारण गरिएको कपडा गोदाममा प्रहरीले छापा मारेको थियो ।  प्रहरीले गोदाममा छापा हानेर ३७ बोरा अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार प्रहरीले बरामद गरेको कपडा ६ लाख ७८ हजार ३३० रुपैयाँ मूल्य बराबरको रहेको छ ।

प्रहरीले विराटनगर-११ मा रहेको रामचन्द्र साहको घरमा बनाएको गोदामबाट २६ बोरा र सुरज कुमार केसीको घरमा रहेको गोदामबाट ११ बोरा कपडा बरामद गरेको हो।

 

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार ११:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया