प्रहरीले पीडकलाई उन्मुक्ति दिएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गरेका छन् ।
पीडकसँग घुस खाएर धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले पीडित पक्षको मुद्दा दर्ता नगरेको भन्दै प्रहरी उपरिक्षक प्रकाश रानाभाटविरुद्ध चर्को नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–३ तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढ्ने विषयमा दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको थियो ।
करिब तीन साताअघि गाउँको मस्जिदमा मौलाना नभएको बेला स्थानीय पोषण राइन भन्ने वृद्ध व्यक्ति नमाज पढाउन गएका बेला सोही ठाउँ बस्ने २२ वर्षीय मुमताज अन्सारीले नमाज पढाउन पाइँदैन भन्दै उनलाई गालीगलौज र कुटपिट समेत गरेका थिए ।
दुवै पक्षबीच विवाद हुँदा घटनाले गम्भीर रुप लिएको थियो । कुटपिटमा राइन पक्षका तीन र अन्सारी पक्षका एकजना घाइते भएका थिए । त्यसपछि प्रहरीले उल्टै पीडककै मुद्दा दर्ता गरेको आरोप छ ।
पीडित पोषण राइनका छोरा मुमताज राइनले आफ्नो समुदायभित्र भएको झैझगडामा प्रहरीले घुस खाएर पीडकको मुद्दा दर्ता गरी उल्टै आफूहरुलाई नै पक्राउ गर्न खोजिरहेको आरोप लगाए ।
घटनालाई समुदायमै मिलाउने प्रयास गरिए पनि राजनीतिक दलको उक्साहटमा अन्सारीले प्रहरीलाई घुस खुवाएर उल्टै आफूहरुविरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ । आफूहरुले मुद्दा दर्ता गराउन खोज्दा एसपी रानाभाटले कुनै चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रेको राइनले बताए ।
बिहीबार दिउँसो पीडित पक्षका व्यक्तिहरुले प्रहरी उपरिक्षक रानाभाटविरुद्ध चर्को नाराबाजी गर्दै जिप्रका अगाडि एक घण्टासम्म धर्नासमेत दिएका थिए । दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै उनीहरुले जिप्रका घेराउ गरेका थिए ।
प्रदर्शनमा उत्रेकाहरुले घुसखोर एसपी धनुषा छोड, भ्रष्ट एसपी मुर्दावाद, दोषीलाई पक्राउ गर, पीडितलाई न्याय देऊलगायत नारा लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।