गृहजिल्ला अछाम पुगेर भीम रावलले भने : सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने कुनै निर्णय भएको छैन

नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा पार्टीमा कुनै निर्णय नभएको दाबी गरेका छन् ।  बिहीबार गृहजिल्ला अछाम पुगेर उनले यस्तो बताएका हुन् । 

‘पार्टीले जिम्मेवारी हेरफेर गर्ने कुनै निर्णय गरेको छैन । कार्यदल गठन भएको छ, सहजकर्ता तोकिएको छ,’उनले भने, ‘बालकोटमा भएको छलफलमा मेरै प्रस्तावमा भएको हो ।’ 

उनले अगाडि भने, ‘त्यहाँ पार्टी अध्यक्षले तपाईं पार्टी उपाध्यक्षको हैसितमा हुनुहुन्छ । १० बुँदे कार्यान्वयन गर्ने विषयमा जहाँ समस्या आउँछ त्यहाँ छलफल गरौँला भन्नुभएको हो ।’ 

आफ्नै प्रस्तावमा बालकोटमा नेताहरु सबै बसेर छलफल गरेको भन्दै कुनै समस्या अहिले नदेखिएको दाबी गरे । ‘म गृहक्षेत्र आएलगत्तै धेरैले सोधेपछि मैले प्रस्ट पार्न खोजेको हुँ,’ उनले भने, ‘बालकोटमा भएको छलफलमा को इन्चार्ज के भन्ने विषयमा कुनै छलफल भएको होइन । पार्टीलाई एकताबद्व बनाएर लैजाने समय हो ।’ 

कम्युनिस्ट पार्टीमा जीवन बलिदान गर्न तयार रहेर आफूहरु लागेको भन्दै पदका लागि लडाइँ नभएको उनले बताए । एकीकृत समाजवादीमा लागेका नेताहरूको नाम नलिई रावलले प्रलोभन देखाउन खोज्लान् भन्दै सचेत हुन नेता–कार्यकर्तालाई आग्रह गरे ।

माधव नेपाल नेतृत्वको पार्टीमा मतभेद सुरु भइसकेको बताए । ‘माधव नेपालको पार्टीमा मतभेद सुरु भइसक्यो । त्यहाँ मन्त्री बन्नका लागि हानथाप छ,’ रावलले भने, ‘आज दुई महिनाभन्दा बढी नाघिसक्यो, यो सरकार गठन हुँदा के भन्नुभाथ्यो उहाँहरूले भने हामीले विगतका दिनहरुमा गरेका थियौँ होला मन्त्री हुनका लागि तर, अब हामी त्यस्तो गर्दैनौँ ।’



यस्तै, अर्को सन्दर्भमा बोल्दै उनले आफूले एमाले फुटाएर छुट्टै पार्टी खोल्नुपर्ने कहिल्यै नबताएको स्पष्ट पारे । एमाले पार्टीमा आन्तरिक विवाद रहेका बेलासमेत एमाले आफू एकताकै पक्षमा उभिएको उनले बताएका हुन् । आफूले पार्टीमा फुट आवश्यक नरहेको बताउँदै एकताका लागि भरपुर प्रयास गरेको उनको भनाइ छ । 

एमाले तत्कालीन नेता माधव नेपाललाई अलग पार्टी खोल्न आग्रह नगरेको र कतै नभनेको उनको दाबी छ ।
 



  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १८:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया